बजेटपछि अकासियो महंगी : व्यापारीले आफूखुशी भाउ बढाउँदा सरकार रमिते

 जेठ २८, २०७५ सोमबार १४:४०:९ | नवराज फुयाँल
unn.prixa.net

मूल्यवृद्धि

काठमाडौं – काठमाडौंको भृकुटीमण्डपभित्र ठेलामा समोसा चाट बनाएर व्यापार गर्ने भारत पटनाका दिपु बैठाले एक हप्तादेखि समोसाको आकार सानो बनाउन थाल्नुभएको छ ।

पहिले अलि ठूलो आकारको हुँदा समोसाको मूल्य १५ रुपैयाँ थियो । अहिले आकार घट्दा मूल्य चाहिँ २० रुपैयाँ पुगेको छ । ८५ रुपैयाँमा बेच्दै आएको चाट पनि बैठाले १ सय रुपैयाँ पुर्याउनुभयो । ‘समोसा र चाट बनाउने सामानकै भाउ छोइनसक्नु भएपछि यसको मूल्य नबढाई सुखै पाइएन’उहाँले भन्नुभयो ।

भाउ बढेपछि ग्राहक घटेका छन् । व्यापार पनि कम भएको उहाँले बताउनुभयो । ‘कमाएको पैसाले खानै नपुग्ने भइसक्यो’ उहाँले भन्नुभयो, ‘यहाँको महँगीले हामीलाई नै खान लाग्यो ।’

ठूला व्यापारीले सामानको भाउ बढाउँदा खुद्रा व्यापारी त मारमा परेका छन् नै । उपभोक्ता झन् धेरै समस्यामा छन् । सबै सामानको भाउ बढ्दा दैनिकी नै कष्टकर हुन थालेको छ ।

ललितपुरको भैंसेपाटीमा डेरा गरी बस्ने नितेश कार्की अहिले मोटरसाइकल छाडेर साइकल चढ्न थाल्नुभएको छ । पेट्रोलको भाउ लगातार बढेका कारण मोटरसाइकल चढ्नै गाह्रो भएको उहाँले सुनाउनुभयो । अलि टाढा जानुपर्दा मात्रै मोटरसाइकल चढ्ने र नजिकै जानुपर्दा भने साइकल चलाउने गरेको उहाँले बताउनुभयो ।

मोटरसाईकलले महिनामा झण्डै १२ लिटर पेट्रोल खान्छ । पटक पटक बढेर अहिले पेट्रोलको मूल्य १ सय १३ रुपैयाँ प्रतिलिटर पुगिसक्यो । मासिक २० हजार कमाउने कार्कीका लागि साइकल चढ्नु बाध्यता बनेको हो । 

खाने तेल प्रतिप्याकेट १५, चामल ५० रुपैयाँसम्म बढ्यो

सरकारले जेठ १५ गते बजेट सार्वजनिक गरेलगत्तै भोलिपल्टदेखि व्यापारीले आफूखुसी भाउ बढाएका हुन् । नेपाल खुद्रा व्यापार संघका महासचिव राजकुमार श्रेष्ठ भन्नुहुन्छ ‘भाउ बढेको सही हो, अर्थमन्त्रीले बजेट भाषण गरे यता बजार मूल्य बढेको छ ।’

उहाँका अनुसार अहिले चामल, दाल, खानेतेल, चिनी, तरकारी सबैको भाउ बढेको छ । ‘ठूला व्यापारीले नै बढेर आएको भन्दै भाउ बढाएपछि खुद्रा मूल्य पनि बढेको हो,’ उहाँले भन्नुभयो, ‘थोकबाटै बढेर आएपछि हाम्रोमा वृद्धि हुने नै भयो ।’ 

काठमाडौंमा केही हप्ता अघिसम्म प्रतिकिलो ६० देखि ६५ रुपैयाँ होलसेल मूल्यमा पाइने चिनी अहिले ७० रुपैयाँ नाघेको छ । उपभोक्ताको भान्सासम्म पुग्दा झण्डै ९० रुपैयाँ पुग्ने गरेको छ ।

खानेतेलको भाउ पनि बढेको श्रेष्ठले जानकारी दिनुभयो । खाने तेल पहिलेको तुलनामा  प्रतिप्याकेट १५ रुपैयाँ बढेको छ । पहिले १ लिटरको प्याक तोरीको तेल १३० रुपैयाँ पथ्र्यो । तर अहिले मूल्य बढेर १४५ पुगेको छ ।  

यसैगरी मुसुरो दाल प्रतिकिलो १० रुपैयाँ बढेको छ । ८५ रुपैयाँ प्रति किलो रहेको मसुरोको दाल अहिले ९५ पुगेको छ । भारतमै पनि मूल्य बढेको र डलरको भाउ पनि बढेकाले बाहिरबाट आयात गर्नुपर्दा दालको मूल्य बढेको उहाँले बताउनुभयो । सबैभन्दा बढी चल्ने जिरा मसिनो, भारतीय बासमतीलगायत चामलको मूल्य छोइनसक्नु छ । चामल प्रतिबोरा ५० रुपैयाँ बढेको छ । खाद्यान्न र तेल मात्र होइन, तरकारीको भाउसमेत बढेको छ । 

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तुलनात्मक विवरणअनुसार दुई हप्ताको अन्तरमासबैजसो तरकारीको खुद्रा भाउ १५ देखि २० प्रतिशतसम्म बढेको छ । आलु रातो ६ प्रतिशत, आलु सेतो १३ प्रतिशत, काउली स्थानीय ३० प्रतिशत, बोडी ४४ प्रतिशत, प्याज सुकेको १८ प्रतिशत, गोलभेडा १५ प्रतिशतसम्म भाउ बढेको छ ।

सरकारले आउँदो आर्थिक वर्ष २०७५/०७६ को लागि ल्याएको बजेटमा राजश्व बढाएको र पहिले रिफण्डेबल भ्याट (फिर्ता हुने मूल्य अभिवृद्धि कर) समेत अबदेखि रिफण्ड (फिर्ता) नहुने व्यवस्था गरेकाले व्यापारीहरुले मूल्य बढाएको खुद्रा व्यापार संघका महासचिव श्रेष्ठले बताउनुभयो । 

आम्दानीले नधान्ने खर्च

अहिलेश्रमिकको न्यूनतम तलब मासिक नौहजार सातसय रुपैयाँ छ । महँगीको अनुपातमाश्रमिकले थाप्ने यो मासिक तलब निकै कम हो । यति थोरै तलबमा काठमाडौंमाबसेर गुजारा गर्न श्रमिकलाई कठिन छ । अझ उसको तलबमा आश्रित परिवार रहने हो भने राजधानी छोड्नुको विकल्प नै रहँदैन । 

‘यस्तै महंगी खेप्न हो र हामीले नेतालाई भोट दिएर जिताएको ?’ काठमाडौंमा ज्यालादारी काम गर्ने माया गुरुङले आक्रोश व्यक्त गर्दै भन्नुभयो, ‘सहरमा बसेर त पेट पाल्नै गाह्रो छ, गाउँमा त कमसेकम फर्सीको मुण्टा त सित्तैमा पाइन्थ्यो, यहाँ त ३० रुपैयाँ पर्छ ।’ उहाँ जस्तै कम आम्दानी हुने परिवारलाई काठमाडौंमा बसेर गुजारा चलाउन मुश्किल छ । सामान्य गुजाराका लागि समेत ऋण खोज्नुपर्ने बाध्यता छ ।  

असंगठित क्षेत्रमा काम गर्ने श्रमिकका लागि खर्च धान्न अझै कष्टकर छ । सरकारले दैनिक ज्यालादारीमा काम गर्नेको न्यूनतम तलब तीनसय ९२ रुपैयाँ तोकेको छ । दैनिक ज्यालादारीमा काम गर्नेले महिनाको सबै दिन काम गरे पनि मासिक आम्दानी ११ हजार सातसय रुपैयाँ मात्रै हुन्छ । तर, यो कमाई डेरा भाडा र सामान्य खानाका लागि मात्रै गर्ने हो भने पनि एक जनाका लागि समेत पर्याप्त हुँदैन ।  

‘अहिलेको न्यूनतम तलबले जीवन धान्न त के मानिसभएर न्यूनतम मापदण्डमा बाँच्ने अवस्था पनि छैन’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले भन्नुभयो, ‘यो तलबले राजधानी र सहरी क्षेत्रका श्रमिकलाई बाँच्ने आधार दिन सकेन ।’ 

सरकारी आँकडाले पनि मूल्यवृद्धि बढेकै देखाएको छ । गएको वर्षको तुलनामा तरकारी, फलफूल, घ्यु–तेल, दुग्धजन्य पदार्थ तथा अण्डा लगायतका वस्तुहरुको मूल्यमा बृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले पनि देखाएको छ । नेपाल राष्ट्र बैंकले वैशाख मसान्तमा सार्वजनिक गरेको तथ्यांकअनुसार खाद्य मुद्रास्फिती ३.२ प्रतिशत पुगेको छ । जुन गएको वर्ष ०.२ प्रतिशत थियो ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष तिमल्सिनाले पेट्रोलियम पदार्थमा भइरहेको निरन्तरको मूल्यवृद्धि र पछिल्लो समय खाद्यान्न, तरकारीको भाउपनि बढ्नुले लोककल्याणकारी राज्यको अनुभूति समेत गर्न नपाएको गुनासो गर्नुभयो । महंगीले भान्साको खर्च धान्न नसक्ने अवस्थामा पुगेको तिमल्सिना बताउनुहुन्छ ।  

नियन्त्रणमा उदासिन

बजेटमा राजश्व बढेका कारण भाउ बढाउनुपरेको व्यापारीको भनाई छ । तर बजेट साउनदेखि मात्र लागू हुने भएकाले अहिले बढेको मूल्यवृद्धि कृत्रिम हो । तर यस्तो कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले कुनै खोजीनीति नै गरेको छैन । न अध्ययन र कालोबजारी गर्नेलाई काराबाही नै गर्न सकेको छ । 

तर मूल्यवृद्धिको अनुगमन भैरहेको सरकारको दाबी छ । ‘हामीले मूल्यवृद्धिको अनुगमन गरिरहेकै छौं,’ केही दिनअघि मात्रै प्रदेश नम्वर १, २ र ३ का विभिन्न ठाउँका उद्योग तथा कलकारखानामा गएर अनुसन्धान गर्यौं’ आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले भन्नुभयो, ‘त्यसरी अनुगमन गर्दा उद्योगबाट कुनैपनि प्रकारको मूल्य बढेको भने फेला परेन ।’

तर व्यापारीहरुले कति सामान आयात गरे, कति भण्डारण गरेर राखेका छन् र भाउ कसरी निर्धारण गर्छन् भन्ने जानकारी समेत सरकारलाई छैन । पहिले भण्डारण गरेर राखेका सामानमा पनि व्यापारीहरुले मूल्यवृद्धि गरेर बजारमा बेच्ने गरेको पाईएको छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

1 Comments

  • saroj chalise

    June 12, 2018, 4:43 p.m.

    good

  •  0 Reply

तपाईको प्रतिक्रिया