पेट्रोलियम पाइपलाइन चितवनसम्मै ल्याइने

 मंसिर ५, २०७५ बुधबार १९:१४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रुटिन अफ् नेपाल बन्द

काठमाडौं – भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन बनाउने काम धमाधम चलिरहेको छ ।

नेपालतर्फको ३६ किलोमिटर पाइपलाइनमध्ये २२ किलोमिटरको काम सकिएको छ । पाइपलाइनसँगै अमलेखगञ्ज डिपोमा पनि आवश्यक पूर्वाधार निर्माणको काम भैरहेको छ । 

काम निकै उत्साहजनक रुपमा चलिरहेको भन्दै नेपाल आयल निगमले पेट्रोलियम पाइपलाइन चितवनको लोथरसम्म नै ल्याउन पहल थालेको छ । 

अमलेखगञ्जबाट आउने पेट्रोलियम पदार्थमध्ये ७० प्रतिशत परिमाण चितवनसम्म ल्याउनै पर्ने भएकाले पाइपलाइन चितवनसम्म ल्याउन लागिएको निगमले जनाएको छ ।  यसका लागि भारतीय आयल कर्पोरेशनसँग प्रारम्भिक छलफल अघि बढिसकेको छ । निगमले अमलेखगञ्ज– चितवनको पेट्रोलियम पाइपलाइनको लागि रुट सर्वे गरिसकेको छ ।

रुट सर्वेबाट मकवानपुरका केही क्षेत्र भिरालो भएको र पहाड परेको देखिए पनि ठूलो अवरोध नरहेको निगमले जनाएको छ । 

‘अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बनाउने कामका लागि हामीले रुट सर्वे सकेर अरु तयारीमा लागि जुटिसकेका छौँ’, निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘नेपाल आयल निगमले यसका लागि जमिन खरिद गरिसकेको छ, सबै हिसावले हामीलाई नाफा हुने भएकाले यो परियोजना सुरु गर्नुपर्छ भन्ने हाम्रो धारणा हो ।’

पाइपलाइन निर्माणका लागि भारतीय सहयोग माग्ने या आफै बनाउने भन्ने विषय छिट्टै टुंग्याइने पनि भट्टराईले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया