फोरम उपाध्यक्ष रेणु यादवले किन दिइन् राजीनामा ?

 मंसिर ५, २०७५ बुधबार २०:४५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – संघीय समाजवादी फोरमकी उपाध्यक्ष रेणु यादवले पदबाट राजीनामा दिनु भएको छ । 

केन्द्रीय पदाधिकारी बैठकमा प्रदेश २ को संयोजक एवं इञ्चार्जबाट हटाउनु पर्ने प्रस्ताव आएपछि यादवले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिनु भएको हो । पार्टी महासचिव रामसहाय यादव र उपमहासचिव प्रकाश अधिकारीले पार्टीको केन्द्रीय पदाधिकारी बैठकमा यादवलाई हटाउनु पर्ने ठाडो प्रस्ताव ल्याएका थिए । 

केन्द्रको निर्णय विपरीत प्रदेश नम्बर २ ले असोज ३ गते संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको थियो । केन्द्रको निर्णय नमानेको भन्दै यादवमाथि कारबाहीस्वरुप प्रदेश संयोजक तथा इञ्चार्जबाट षड्यन्त्रपूर्ण ढंगले हटाउन प्रस्ताब ल्याइएकाे बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए । 

कालो दिवस मनाउँदा पार्टीको छविमा नकारात्मक प्रभाव परेकाले कारबाही यादवमाथि कारबाहीको प्रस्तावमा गरिएको हो । प्रदेश २ का अर्थमन्त्रीसमेत रहनुभएका विजय यादवलाई प्रदेश संयोजक एवं इञ्चार्ज बनाउन यादवलाई हटाउने षड्यन्त्र भएको एक केन्द्रीय नेताले जानकारी दिए ।

बैठकमा आफूलाई हटाउने प्रस्ताव आएपछि पार्टी केन्द्रीय उपाध्यक्षसमेत रहनु भएकी यादवले उतिबेलै राजीनामा पत्र लेखेर बैठकमा बुझाउनु भएको थियो । उपाध्यक्ष यादवकै अडानले २ बुँदे सहमतिपछि मात्रै फोरम सरकारमा सामेल भएको थियो । 

सरकारमा त्यसै सहभागी हुन नहुने अडान र संविधान दिवसका दिन प्रदेश नम्बर २ मा कालो दिन मनाएको विषयले अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष रेणु यादवबीच मनमुटाव चल्दै आएको पार्टीका नेताहरू बताउँछन् । उपाध्यक्षले नै राजीनामा बुझाएपछि बैठक अर्को मिति नतोकी अनिश्चितकालका लागि स्थगित हुन पुगेको छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया