सुजाता भन्छिन् : दुई तिहाई बहुमतको सरकार पूर्ण रुपमा ‘फेलियर’ भयो

 मंसिर ६, २०७५ बिहिबार १५:५२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दावी गर्नुभएको छ । 

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेतृ कोइरालाले भन्नुभयो, ‘मलाई त आश्चर्य लागेको छ, यत्रो दुई तिहाई बहुमतको सरकार छ, विकास होला भन्ने लागेको थियो । तर, सरकार यो ९ महिनामा पूर्ण रुपमा ‘फेलियर’ भयो । मुलुकमा स्थिरताको साटो अस्थिरता देखियो । विकास निर्माणका कामले गति लिन सकेनन् । कर बढाएर जनतालाई भार थप्ने काम गर्यो । जनतालाई अप्ठ्यारो अवस्थामा पुर्‍याइएको छ।’

सरकारले जनताको हितमा एउटा पनि काम गर्न नसकेको कोइरालाले गम्भीर आरोप लगाउनुभयो, ‘म आफै आश्चर्यमा परेकी छु, प्रजातन्त्रमा यत्रो दुई तिहाई बहुमत भनेको त एकदमै महत्वपूर्ण कुरा हो । दुई तिहाई बहुमतको सरकार पनि सफल भएन भने यो एकदम खतरनाक हुनसक्छ । र, उहाँहरुले किन सरकार चलाउन नसकेको हो ? अहिले देश यत्रो भ्रष्टाचारले भरिएको छ । यति भ्रष्टाचार, यति भ्रष्टाचार कि त्यसको कुनै सीमा नै छैन् । मैले त कल्पना पनि गरेको थिइनँ कि नेपालमा यत्रो भ्रष्टाचार, महामारी फैलिएजस्तो फैलिएको भ्रष्टाचार । भ्रष्टाचार अहिले ग्रास रुटसम्म पुगिसक्यो । यो चाहिँ देशको लागि खतरनाक हो ।’

कोइरालाले कांग्रेस अहिले कमजोर भयो भन्ने हल्ला भैरहे पनि आफ्नो पार्टी बलियो नै रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले निर्वाचनमा सिट कम ल्याएका हौँ । तर, यही समय सधैँ रहिरहन्छ भन्ने छैन् । जनताको बीचमा हाम्रो साथीहरु जानुहुन्छ । उहाँहरुले पार्टी बचाउनुहुन्छ भन्ने मलाई पूरा विश्वास छ । यदि कसैले प्रजातन्त्रलाई मास्छु, समाप्त पार्छु भन्ने सोचेको छ भने त्यो आफै समाप्त हुन्छ । तर, देश समाप्त हुँदैन । प्रजातन्त्र समाप्त हुँदैन ।’

त्यस्तै नेतृ कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो कार्यशैली तत्काल नसच्याए पार्टीलाई ठूलो क्षति हुने पनि दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘शेरबहादुर देउवाजीले आफ्नो कार्यशैली बदल्न सक्नुहुन्छ भने बललिँदै राम्रो हुन्छ । नत्र त्यसले पार्टीलाई क्षति पुर्‍याइरहेको छ । यो कुरा सत्य नै हो । पार्टीमा गुटबन्दी बढ्दै गैराखेको छ । हामीले कसलाई दोष दिने ? पार्टीलाई एकतावद्ध गर्ने जिम्मेवारी देउवाजीले लिनुपर्छ ।’

सभापति देउवाकै कारण पार्टी कमजोर बनेको उहाँको आरोप छ । ‘उहाँले गरेका केही गल्ती र क्रियाकलापहरुले त कांग्रेस धेरै कमजोर भएको छ । चुनावभन्दा अघि पनि उहाँले लिएका निर्णयहरु सही थिएनन् । त्यसले चुनावमा नकरात्मक प्रभाव पार्यो । र, हामी चुनाव हार्यौं पनि । कांग्रेसले बाटो बिराउँदै गरेकोले यो पार्टीको यो दुर्दशा हामीले भोग्नु परिरहेको छ’, उहाँले भन्नुभयो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया