जयनगर–जनकपुर रेल्वेको उद्घाटन यूपीका मुख्यमन्त्रीले गर्न मिल्दैन : नेपाली कांग्रेस

 मंसिर ६, २०७५ बिहिबार १६:२१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली कांग्रेसले जयनगर–जनकपुर–कुर्था रेल सेवाको उद्घाटन भारतको एउटा राज्यका मुख्यमन्त्रीबाट गर्न लागेको प्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।

नेपाल र भारत दुवै देशका प्रतिनिधिबाट हुनुपर्नेमा भारतका प्रतिनिधिबाट मात्रै उद्घाटन गर्न लाग्नुले गम्भीर खतरा उत्पन्न गराएको कांग्रेसले जनाएको छ । 

रेलसेवाको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उद्घाटन गर्ने निश्चित भएको छ । मित्रराष्ट्रको लगानी र सहयोगलाई कांग्रेसले सधैँ स्वागत र कदर गर्ने गरेको भए पनि कुनै पनि परियोजनको उद्घाटन दुबै देशका प्रधानमन्त्रीबाट संयुक्त रुपमा हुने या निश्चित विभागीय तहबाट हुने परम्परा र मर्यादा उल्लंघन गर्न नमिल्ने उसले ठहर गरेको छ । 

नेपाली कांग्रेसले बिहीबार पत्रकार सम्मेलन गरी यस विषयमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउनुका साथै सार्वजनिक रुपमा जवाफ मागेको छ ।  

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले निर्मलाको न्यायका निम्ति भन्दै उनका आमाबुवा डेढ सातादेखि निरन्तर धर्नामा बस्दा पनि राज्यले कुनै सुनुवाइ नगरेको बताउनुभयो । ‘सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको रामराज्यमा निर्मलाले न्याय पाउने सम्भावनाको मृत्यु भइसकेको हो ?’, उहाँले प्रश्न गर्नुभयो । 

सरकारको यो ९ महिने कार्यकालमा कुनै पनि आशाजनक काम हुन नसकेकाले ‘नेपालमा सरकार छ ? छ भने कहाँ छ ?’ भन्ने अवस्था आएको प्रवक्ता शर्माले बताउनुभयो । 

कांग्रेसले वाइडबडी जहाज प्रकरणको वास्तविकता सार्वजनिक गर्नुपर्ने, मन्त्रिपरिषद्को निर्णय ७ दिनमा नभई २४ घण्टाभित्रै सार्वजनिक गर्नुपर्ने माग राखेको छ ।  
स्वचालित मूल्य निर्धारण प्रणाली प्रभावकारी कार्यान्वयन नगर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटेको भए पनि नागरिकले बढी मूल्य तिरेर बोझ बोकिरहनु पर्ने अवस्था आएको कांग्रेसको ठहर छ ।  

यस्तै विकासका सवै ठूला परियोजना प्रधानमन्त्री कार्यालय मातहत ल्याउने तयारी संघीयताको मर्म विपरस्त रहेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले बताउनुभयो । 

यही मंसिर २८ गतेदेखि हुन लागेको महासमिति बैठकको तयारी तीव्र रुपमा भइरहेको पनि उहाँले बताउनुभयो । 

महासमितिमा प्रस्तुत गरिने राजनैतिक दस्तावेज एवं पार्टीको आर्थिक नीतिका सम्बन्धमा प्रदेशस्तरीय अलग–अलग छलफल सम्पन्न भएको र पार्टीको विधानमा समसामयिक संशोधनका लागि देशमा १२ स्थानमा केन्द्रिकृत ढंगले सुझाव संकलन कार्य पनि सकिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

यस्तै मंसिर ९ गते केन्द्रीय समितिको बैठक बस्न लागेको र बैठकमा विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रस्तावित मस्यौदा पेश हुने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।  


 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया