रुद्राक्ष खरिदका विषयमा आफ्नै साथीलाई कुट्ने चिनियाँ नागरिक १६ लाख धरौटीमा छुटे

 मंसिर ६, २०७५ बिहिबार १७:४५:५९ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभाको सदरमुकाम खाँदबारीमा रुद्राक्ष खरिदबिक्रीको विषयलाई लिएर भएको कुटपिटको मुद्धामा जेल परेका चार जना चिनियाँ नागरिकहरु धरौटीमा छुटेका छन् । 

आफ्नै साथीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका चार जना चिनियाँ रुद्राक्ष व्यापारीहरु १६ लाख रुपैयाँ धरौटीमा रिहा भएको जिल्ला अदालत संखुवासभाले जनाएको छ । रिहा हुने चिनियाँ व्यापारीहरुमा ३५ वर्षीय लि नान, ४० वर्षीय लिउ छिन, ३८ वर्षीय हाउ साउहुई र ४५ वर्षीय लीन रहेका छन । उनीहरूलाई जनही चार लाख २० हजार रुपैयाँमा धरौटीमा रिहा गरिएको जिल्ला अदालत संखुवासभाले जनाएको छ । एक समूहले खरिद गरेको रुद्राक्ष ल्याउँदै गर्दा अर्को समूहले थप रकम दिएर खरिद गर्न खोज्दा विवाद उत्पन्न भई कुटाकुट भएको थियो । 

गएको कात्तिक ४ गते सदरमुकाम खाँदबारीमा रुद्राक्ष खरिद बिक्री गर्ने विषयमा विवाद उत्पन्न भएपछि दुई समूहबीच कुटाकुट भएको थियो । कुटपिटका क्रममा आफ्नै साथी छिन जेन्वीङको टाउकोमा इँटा प्रहार भएको थियो । उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेपछि जिल्ला अस्पतालमा खाँदबारीमा उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

घाइते छिन जेन्वीङको उपचार काठमाडौंमा भइरहेकाले पक्राउ परेका चारैजनालाई तारिखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक कटुवालले जानकारी दिनुभयो । रिहा हुने चारै जना चिनियाँ रुद्राक्ष व्यापारी सदरमुकाम खाँदबारीमा घर भाडामा लिएर गएको वर्षदेखि नै रुद्राक्ष खरिद बिक्रीको समयमा बसोबास गरिरहेका छन् ।

रुद्राक्षबाट छोटो समयमा राम्रो आम्दानी हुने भएकाले चिनियाँ व्यापारीहरू संखुवासभाबाट खरिद गरेको रुद्राक्ष चीन लगेर बिक्री गरेर पुनः संखुवासभा आउने गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले ५० चन्दा बढी चिनियाँ रुद्राक्ष व्यापारीहरू संखुवासभाको सदरमुकाम खाँदबारी र तुम्लिङटारका होटलहरूमा बसोबास गरिरहेको समेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पूर्वी नेपालको संखुवासभा र भोजपुरलाई रुद्राक्ष उत्पादन हिसाबले अत्यन्तै राम्रो जिल्ला मानिन्छ । यहाँ बर्सेनि करोडौ रुपैया बराबरको खरिदबिक्री हुने गरेको व्यापारीहरुको भनाई छ । विशेषगरी संखुवासभाको सदरमुकाम खाँदबारी र मुख्य बजार तुम्लिङटारमा सातामा ठूलो रकमको कारोबार हुने गरेको पाइन्छ ।  


 

अन्तिम अपडेट: चैत १७, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया