एउटै विषयमा सरकारलाई छुट्टाछुट्टै निर्देशन नदिनुहाेस् : सभामुख महरा

 मंसिर ६, २०७५ बिहिबार १८:२५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - सभामुख कृष्णबहादुर महराले सरकारलाई एउटै विषयमा छुट्टाछुट्टै निर्देशन नदिन संसदीय समितिहरुलाई सचेत गराउनु भएको छ ।

प्रतिनिधिसभा अन्तरगतको १० वटै विषयगत समितिका सभापतिहरुलाई बिहीबार सिंंहदरबारमा बोलाएर सभामुख महराले एउटै विषयमा सरकारलाई छुट्टाछुट्टै निर्देशन नदिन सचेत गराउनु भएको हो ।

त्यस अवसरमा उहाँले एउटै विषयमा सरकारलाई निर्देशन दिनु परे संयुक्त बैठक बस्न पनि संसदीय समितिहरुलाई आग्रह गर्नुभयो ।

यसैबीच, संघीय संसदको अधिवेशन छिट्टै बोलाउने तयारी गरिएको छ । सभामुख महराले संसदको अधिवेशन तत्काल बोलाउने गरी सरकारसँग आवश्यक छलफल गर्न लागिएको जानकारी गराउनु भएको हो ।

उहाँले संसदीय समितिका सभापतिहरुसँगको भेटमा संविधानसँग बाँझिएका सबै कानुन खारेज गरी नयाँ व्यवस्था गर्नुपर्ने भएकाले संसद बैठक बोलाउन ढिलाई नहुने योजना सार्वजनिक गर्नु भएको हो ।

सभामुख महराले कानुन निर्माणको काममा केन्द्रित हुन पनि सांसदहरुलाई आह्वान गर्नु भयो । त्यसैगरी संसदीय समितिहरुको कार्यालय व्यवस्थापन र जनशक्ति व्यवस्थापन गर्ने विषयमा पनि सभामुखले आफूहरुसँग छलफल गर्नु भएको संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनु भयो ।

बैठकमा समितिका सभापतिहरुले आ–आफ्ना समितिको काम कार्वाही र त्यसमा देखिएका समस्याबारे सभामुख महरालाई जानकारी गराएका थिए । बैठकमा राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल, संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायतका पदाधिकारी पनि सहभागी हुनु भएको थियो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया