सांगठनिक एकीकरण मिलाउन नेकपाको स्थायी समिति बैठक बस्दै

 मंसिर ६, २०७५ बिहिबार १८:३२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको सांगठनिक एकीकरणको कामबारे आवश्यक निर्णय लिन स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । 

बिहीबार बसेको पार्टी सचिवालय बैठकले सांगठनिक एकीकरण र पार्टी केन्द्रीय सदस्यहरुको कामको बाँडफाँडका लागि आवश्यक निर्णय लिन स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कार्य दलले तयार पारेको संगठन एकीकरण र पार्टी केन्द्रप्य सदस्यको जिम्मेवारी बाँडफाँडसम्बन्धी प्रस्ताव पेस गरिएको थियो । त्यो प्रस्तावलाई अन्तिम रुप दिन शुक्रबार पुनः सचिवालयको बैठक बोलाउने निर्णय पनि गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा रहेको दुई सदस्यीय कार्य दलले सांगठनिक एकीकरण र पार्टी केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँडका लागि प्रस्ताव तयार पारेको थियो । सोही प्रस्ताव सचिवालय बैठकमा पेस गरिएको हो ।

बैठकमा केन्द्रीय कार्य समितिको बैठक बोलाउन असन्तुष्ट केन्द्रीय सदस्यहरुले गरेको मागका विषयमा पनि छलफल गरिएको थियो । 

२२ जना केन्द्रीय सदस्यहरुले केन्द्रीय कार्य समिति बैठक बोलाउन माग गरेको विषयलाई पनि शुक्रबारको सचिवालय बैठकमा ऐजन्डा बनाएर छलफल गर्ने निर्णय पनि गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया