डोटी दुर्घटना अपडेट : मृतकको संख्या १८ पुग्यो, ११ जनाको अवस्था गम्भीर

 मंसिर ७, २०७५ शुक्रबार ७:२:३३ | विमल बिष्ट
unn.prixa.net

डोटी – डडेल्धुरा–डोटी जोड्ने डाक्टर केआईसिंह राजमार्गको रडुवा खोला भन्ने ठाउँमा बिहीबार साँझ बस दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक कर्णबहादुर रौलेले दिनु भएको जानकारी अनुसार डडेल्धुराको उग्रतारा मन्दिरको मेला हेरेर डोटी फर्किने क्रममा बिहीबार बेलुकी पौने ६ बजेतिर बस दुर्घटनामा परेको हो । डोटीको शिखर नगरपालिका १२ मा रहेको पिसजोन एकेडेमीको से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा १३ जना पुरुष र ५ जना महिलाको ज्यान गएको उपक्षेत्रीय अस्पताल डडेल्धुराका मेडिकल सुपरिटेन्डेन्ड डाक्टर जितेन्द्र कँडेलले जानकारी दिनुभयो । ट्राफिक प्रहरी पोष्ट स्याउलेका प्रमुख गणेश नागारीका अनुसार ज्यान गुमाउने मध्ये डोटीको दिपायल सिलगढी नगरपालिका ४ बस्ने शशी विकको मात्र पहिचान भएको छ । 

घाइते मध्ये गम्भीर अवस्थाका ११ जनालाई कैलाली रिफर गरिएको छ भने अन्य १५ जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भैरहेको छ । ओरालो सडक र बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुन सक्ने ट्राफिक प्रहरीको अनुमान छ । 

सामान्य अवस्था भएका दुई जनालाई भने अस्पतालले डिस्चार्ज गरेको प्रहरीले जनाएको  छ । गम्भीर घाइतेको संख्या बढी भएकाले मृतकको संख्या बढ्नसक्ने प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया