सुनुवाई समितिद्वारा प्रस्तावित चार राजदूतबारे उजुरी आह्वान

 मंसिर ७, २०७५ शुक्रबार ८:४३:३६ | उज्यालो सहकर्मी

काठमाडौं – संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित चार राजदूतबारे उजुरी आह्वान गरेको छ । प्रस्तावित राजदूत निलाम्बर आचार्य, उदयराज पाण्डे, कृष्णप्रसाद ढकाल र अञ्जना शाक्यविरुद्ध कुनै उजुरी भए १० दिनभित्र समितिमा दिन सकिनेछ । 

आउँदो १७ गते सोमबारसम्म समितिको कार्यालय सिंहदरबार, इमेल, हुलाक तथा जिल्ला प्रशासन कार्यालयबाट समेत उजुरी दर्ता गर्न सकिनेछ । समितिमा उपस्थित नै भएर पनि उजुरी दिन सकिने व्यवस्था गरिएको छ । 

उजुरीको समयसीमा सकिएपछि समितिले प्रस्तावित पदाधिकारीलाई सुनुवाइका लागि बोलाउनेछ । गएको कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले भारतका लागि निलाम्बर आचार्यलाई राजदूतमा सिफारिस गरेको थियो । आचार्यलाई अफगानिस्तान र भुटानको गैरआवसीय राजदूतका रूपमा समेत काम गर्ने गरी सिफारिस गरिएको हो । 

यस्तै साउदी अरेवियाका पूर्वराजदूत रहनुभएका उदयराज पाण्डेलाई मलेसियाको राजदूतमा सिफारिस गरिएको छ । पाण्डेलाई इन्डोनोसियाको गैरआवसीय राजदूतको पनि जिम्मेवारी दिइएको छ । यस्तै, सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललाई यूएईका लागि राजदूतमा सिफारिस गरेको छ । 

इजरायलका लागि आवासीय र साइप्रसमा गैरआवसीय राजदूतको जिम्मेवारीमा रहनुभएका निरञ्जनकुमार थापालाई फिर्ता बोलाउँदै सरकारले नयाँ राजदूत सिफारिस गरेको हो । सरकारले थापाको स्थानमा डाक्टर अञ्जान शाक्यलाई सिफारिस गरेको छ । नेपालको संविधानको धारा २९२ अनुसार नियुक्ति अघि राजदूतको संसदीय सुनुवाइ हुने व्यवस्था छ । सुनुवाइ समितिले सिफारिस अनुमोदन गरे नियुक्तिको प्रक्रिया अगाडि बढ्नेछ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया