हिटर किन्दै हुनुहुन्छ : कस्ता छन् बजारमा हिटर ?

 मंसिर ७, २०७५ शुक्रबार १०:०:२४ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – मंसिर महिना सुरु भएसँगै जाडो पनि बढ्दै छ । सँगसँगै जाडोमा चाहिने सरसामानको माग र बिक्री पनि बढिरहेको छ । पानी तताउनेदेखि लिएर कोठा न्यानो पार्नको लागि हिटरको प्रयोग पनि बढ्दो छ । लोडसेडिङ घटिरहेको बेला विद्युतीय हिटर धेरैको रोजाइमा पर्दै आएको छ । 

इलेक्ट्रिक पसलहरुमा हिटरको व्यापार बढ्दो क्रममा छ । कुमारीपाटीको रविन इलेक्ट्रिक्सका सञ्चालक पवन श्रेष्ठले जाडो सुरु भएसँगै हिटरको व्यापार बढेको बताउनुभयो ।

कुन कम्पनीका हिटर राम्रो ?

बजारमा विभिन्न कम्पनी तथा ब्राण्डका हिटरहरु पाइन्छन् । बाल्ट्रा, ईलेक्ट्रोन, सीजी, डेला, यसोदा, होमग्लोरी, एरिस्टोन आदि कम्पनीका हिटरहरु बढी बिक्री हुने गरेका छन् । सबैभन्दा बढी बाल्ट्रा र सीजी कम्पनीका हिटरहरु बिक्री हुने गरेको श्रेष्ठ बताउनुहुन्छ, त्यसपछि यसोदाका हिटरहरु बिक्री हुने गरेको उहाँको अनुभव छ । ‘स्वदेशी कम्पनी भएकाले सीजी कम्पनीको हिटर किन्नु राम्रो हुनसक्छ’ उहाँले भन्नुभयो, ‘बजारमा आएका अन्य कम्पनीका भन्दा यस कम्पनीका सामानमा बिग्रेको गुनासो कम आउने गर्छ ।’ 

यस्तै ब्राण्डको हिसाबले कुरा गर्दा यसुदा, होमग्लोरी कम्पनीका सामानले पनि राम्रै बजार लिएका छन् । तर पनि आफूलाई अनुकूल पर्ने र साथीभाइ तथा प्रयोग गरिसकेका मान्छेहरुसँग सल्लाह लगेर यस्ता सामान किन्दा उपयुक्त हुने उहाँ बताउनुहुन्छ । 

कस्ता कस्ता हिटर ?

बजारमा हिटर किन्न जाँदा कस्तो प्रकारको हिटर किन्ने भन्नेमा जानकारी हुनुपर्छ । पानी तताउनको लागि हो कि, कोठा न्यानो पार्नको लागि हो ? या त गर्मीमा चिसो पार्ने पङ्खा चलाए जसरी जाडोमा तातो हावा फ्याँक्ने पङ्खा चाहिएको हो, त्यसको लागि पहिले नै निधो गर्नुपर्छ । 

पानी तातो पार्ने हो भने रड र गिजर, कुन उपयुक्त हुन्छ, त्यही किन्नुपर्छ । सजिलो र सस्तोको लागि रड किन्दा नै राम्रो । अदिप्त इलेक्ट्रोनिक जाउलाखेलका सञ्चालक प्रेम घिमिरे भन्नुहुन्छ, ‘तर आफ्नै घर छ, सधैंको लागि फिट गर्छुं भन्नेले गिजर किन्नु उपयुक्त हुनसक्छ ।’ यस्तै हिटरहरु पनि विभिन्न प्रकारमा हुन्छन्, नर्मल हिटर, फ्यान हिटर, ग्यास हिटर आदि ।

हुन त सबै हिटरको काम भनेको कोठालाई न्यानो बनाउने नै हो । तर नर्मल हिटर भन्दा ग्यास हिटर खाना पकाउने ग्यास सिलिण्डरबाट पनि चलाउन सकिन्छ । यस्तै फ्यान हिटरले पङ्खाबाट तातो हावा फाल्ने काम गर्छ । फ्यान हिटर र नर्मल हिटर भन्दा ग्यास हिटर अलि बढी महंगो पनि हुन्छ । ग्यास भएको बेला ग्यासबाट चलाउने र बिजुलीबाट पनि चलाउन मिल्ने भएकोले यसको लोकप्रियता बढ्दै गएको छ ।

सामान्यतयाः नर्मल हिटर र ग्यास हिटर एक हजारदेखि चार हजार रुपैयाँसम्ममा आउँछ भने सामान्य ग्यास हिटरको मूल्य आठ हजार रुपैयाँ जति पर्छ । चारैतिर घुम्ने अर्थात रोटरी डिजाइनको हिटर किन्यो भने यसले कोठालाई चारैतिर बराबर मात्रामा न्यानो बनाइराख्छ ।

मूल्य

बजारमा सस्तोमा एकहजार रुपैयाँदेखि महंगोमा १० हजार रुपैयाँ माथिसम्मका हिटरहरु पाइन्छन् । व्यापारी घिमिरेका अनुसार हिटरमा कति लेभलको हेलोजन रड फिट छ भन्ने कुराले  त्यसको मूल्य निर्धारण गरिएको हुन्छ । प्रायःजसो दुईदेखि पाँचओटासम्म हेलोजन रडका हिटरहरु हुन्छन् । सामान्यतयाः कम हेलोजन रड भएको हिटरको मूल्य कम र बढी भएको मूल्य बढी हुने गर्छ । 

जस्तै सीजी कम्पनीको चार ईलेक्ट्रिक हेलोजन रड भएको हिटरको मूल्य दुई हजार चारसय रुपैयाँ पर्छ भने त्यही ब्राण्डको दुईओटा हेलोजन रड भएको हिटरको मूल्य एक हजार छ सय रुपैयाँ जति पर्न आउँछ । हिटरले जति बढी हेलोजन रड भयो त्यति नै बढी ताप उत्सर्जन गर्छ ।

यस्तै कम्पनीअनुसार पनि हिटरको मूल्य फरक फरक हुने गर्छ । नेपाली बजारमा डेला र यसुदाको हिटर अन्य कम्पनीको भन्दा केही महंगो छ । यस्तै पानी तताउने रडहरुको मूल्य सामान्यतया २ सयदेखि पाँच सय रुपैयाँसम्म पर्छ । 

हिटर प्रयोगमा ध्यान दिनुपर्ने कुरा 

जुनसुकै विद्युतीय उपकरण प्रयोग गर्नमा सावधानी अपनाउनु नै पर्छ । यस्ता सामानहरु जहिले पनि बच्चाहरुको पहुँचबाट टाढा राख्नुपर्छ । पानी भएको तथा पोलिस्टरको कपडा भए नजिक हिटर राख्नुहुदैन । सकेसम्म हिटर फिट गर्दा कहाँ, कसरी राख्ने भनेर प्राविधिकसँग सल्लाह लिनुपर्छ । 

कतिपयले सिरानी नजिकै र खुट्टा छोइने गरेर हिटर चलाउने गरेका हुन्छन् । कहिलेकाहीँ त्यसले मान्छेमा एलर्जी पनि निम्त्याउन सक्छ । खुट्टा चिलाउने हुनसक्छ । रविन इलेक्ट्रिक्सका सञ्चालक श्रेष्ठका भन्नुहुन्छ, ‘ग्राहकहरुले कहिलेकाहीँ त्यस्तो गुनासो पनि गर्ने गरेका छन् ।’

रडले पानी तताइरहेको बेला चिसो पानी भएको बाल्टीमा हात हाल्नु हुँदैन । पानी तातिसकेपछि करेन्ट नलागे पनि चिसोपानीमा करेन्ट लाग्न सक्छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया