कर्मचारी भन्छन् : प्रधानमन्त्रीको सक्रियताले काम गर्ने हौसला बढ्यो

 मंसिर ७, २०७५ शुक्रबार १५:३५:१७ | नवराज फुयाँल
unn.prixa.net

काठमाडौं – शहरी विकास मन्त्रालयले संघीय संरचनाहरुको निर्माण, अन्तर मन्त्रालय समस्या र बजेटका कारण चालू आर्थिक वर्षको चौमासमा निर्धारण गरिएको काम सम्पन्न गर्न कठिनाई आएको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेस गर्‍याे । यस्तै प्रतिवेदन अन्य मन्त्रालय र निकायले पनि प्रधानमन्त्री समक्ष पेस गरे । बुधबारदेखि सुरु भएको मन्त्रालय र विभिन्न निकायले गरेका कामको समीक्षा बैठकमा उनीहरुले प्रतिवेदन बुझाएका हुन् । 

बुधबार पहिलो चरणमा भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत, सूचना तथा सञ्चार, कृषि तथा पशुपंक्षी, उद्योग वाणिज्य, सहरी विकास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कामको समीक्षा भयो ।  

बिहीबार अर्थ मन्त्रालय, शिक्षा मन्त्रालय, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन’, युवा तथा खेलकुद, खानेपानी, सहकारी तथा भूमि व्यवस्था, श्रम र बन तथा वातावरण मन्त्रालयको समीक्षा भयो । 

पहिलो पटक स्वयम् प्रधानमन्त्रीसँगै बसेर मन्त्रालयका कामका बारेमा समीक्षा भएको शहरी विकास मन्त्रालयका सचिव डा.रमेशप्रसाद सिंहले बताउनुभयो । समीक्षा बैठकमा मन्त्रालयहका सचिवहरुले आ–आफ्ना मन्त्रालयले पहिलो चौमासमा भएको कामको विवरण पेस गरेका थिए । 

मन्त्रालयहरुले पेस गरेको प्रतिवेदन सुनिसकेपछि प्रधानमन्त्रीले अब कुनै पनि बहानामा ढिलाई भएको भन्ने सुन्न नपरोस् भन्दै देखिने गरी काम गर्न निर्देशन दिनुभएको थियो ।  

स्वयम् प्रधानमन्त्रीसँगै बसेर मन्त्रालयका विषयमा छलफल गर्न पाउँदा धेरैजसो समस्याको समाधान निस्कनुका साथै आगामी दिनमा पनि काम गर्न पनि सहजता भएको सिंहको बुझाई छ । 

‘प्रधानमन्त्री स्वयम् सक्रिय बन्नु भएको छ, यसले हामीलाई पनि काम गरेरै देखाउनु पर्छ भन्ने भावना जागृत गराएको छ’, सचिव सिंहले भन्नुभयो, ‘त्यसैले हामी देखिने गरी काम गर्न दिनरात लागिपरेका छौँ ।’

प्रधानमन्त्री आफैले सक्रियता बढाउँदै माताहतका मन्त्रालयले गरेको कामको अनुगमन थालेपछि मन्त्री तथा सचिवहरु ‛प्रेसर′मा परेको उहाँको अनुभव छ । ‘पहिले कसैलाई वास्तै हुँदैन थियो । नियमित हुने कामबाहेक अन्य खासै काम हुँदैन थिए । सचिवहरु पनि काम भइरहेकै छ भनेर बस्थे । तर अहिले म आफै पनि मन्त्रालयले गर्नु पर्ने काम, कार्यविधि तथा नीति तथा कार्यक्रमको गहन अध्ययन गर्नुका साथै त्यसलाई कसरी कार्यान्वयनमा लैजाने भन्ने उपाय खोज्न तल्लीन भइरहेको हुन्छु′ सचिव सिंहले भन्नुभयो ‘मजस्तै अन्य मन्त्रालयका सचिव तथा कर्मचारी पनि अहिले काममा खटिएका छन् ।′ 

काम गर्ने हौसला बढ्यो

प्रधानमन्त्रीको अध्यक्षतामा समीक्षा हुँदा कर्मचारीले पनि काम हुन नसकेकाबारे आफ्ना समस्या राख्ने मौका मिलेको कृषि तथा पशुपंछी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदी बताउनुहुन्छ ।  

आफ्ना समस्याहरु सोझै प्रधानमन्त्रीसँग राख्न पाउँदा समस्या निराकरणका साथै कर्मचारीमा पनि सकारात्मक काम गर्ने मनोबल बढेको उहाँको भनाई छ ।  

‘संघीय संरचना खडा गर्ने काममा एउटा मन्त्रालय मात्रै नभई सिंगो राज्य नै लागेका बेला अन्य कामहरु केही सुस्त देखिएका मात्रै हुन्’, उहाँले भन्नुभयो, ‘अब भने चालु आर्थिक वर्षको प्रथम चौमासमा राखिएका पूरा हुन नसकेका उद्धेश्यहरु अबको चौमासिकमा पूरा गर्ने गरी काम हुनेछ ।’ अर्को चौमासको काम शतप्रतिशत हुनेगरी काम अगाडि बढाउन आफूहरु तयारीका साथ अघि बढेको पनि उहाँले बताउनुभयो । 

मुख्य कुरा कर्मचारी व्यवस्थापन हुन सकेको थिएन । तर अहिले कर्मचारी समायोजन ऐन आइसकेको र धेरै ऐन नियम पनि बनिसकेकाले अब भने कामले गति लिने प्रवक्ता सुवेदी बताउनुहुन्छ ।  

काम नगरी सुखै छैन 

दुई तिहाइ बहुमत रहेको सरकारको काम फितलो देखिएपछि प्रधानमन्त्रीकै निर्देशनमा अहिले सबै मन्त्रालयको अनुगमन प्रधानमन्त्री कार्यालयबाटै गर्न सकिने व्यवस्था मिलाइएको छ । पोर्टल र मोबाइल एपबाट सबै मन्त्रालयको अनुगमन प्रधानमन्त्रीले आफ्नै कार्यकक्षमा बसेर गर्न सक्नुहुने छ । 

सरकारले नीति कार्यक्रम ल्याएपछि मन्त्रालयहरूले गर्ने भनेका कामहरूको विवरण समेटेर पोर्टलमा राखिएको छ । एपमा ८० प्रतिशत बढी काम सकेका मन्त्रालयलाई हरियो, ८० प्रतिशतसम्म काम गरेकालाई पहेँलो र ५० प्रतिशतभन्दा कम काम गरेका मन्त्रालयलाई रातो चिन्ह दिने व्यवस्था गरिएको छ । 

हरियो चिन्ह आएको मन्त्रालयको काम राम्रो, पहेँलो चिन्ह आएको मन्त्रालयको काम सन्तोषजनक र रातो चिन्ह आएको मन्त्रालयको काम ठीक नभएको बुझाउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताउनुभयो । 

पोर्टलमा मन्त्रालयले गर्न पर्ने काम, तथा त्यसको सम्पूर्ण विवरण पहिले नै सेट हुने हुँदा जथाभावी रुपमा चिन्ह लगाउन नमिल्ने शहरी विकास मन्त्रालयका सचिव डा.सिंह बताउनुहुन्छ । चिन्ह लगाइसकेपछि कसरी भयो भनेर स्पष्ट रुपमा सबै विवरण आउने हुँदा छल÷ढाँट गर्न पनि नसकिने हुँदा काम गर्नै पर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।  

‘अहिले त पुरै तयारी गर्नु परेको छ’, सचिव सिंहले भन्नुभयो, ‘काम नगरे मूल्यांकनमा पनि पछि पर्ने हुँदा काम नगरी सुखै छैन नि ।’ 

‘प्रधानमन्त्रीले यो वा त्यो बहाना देखाएर काम नरोक्नुस् भन्ने निर्देशन दिनुभएको छ’, प्रधानमन्त्री कार्यालयका प्रवक्ता कुँवर भन्नुहुन्छ, ‘बरु के गरेर काम छिटो गर्न सकिन्छ त्यसमा प्रधानमन्त्री कार्यालयले पनि सहयोग गर्छ भन्नुभएको छ ।’ यसले काम गर्ने सकारात्मक वातावरण सिर्जना गरेको कुँवर बताउनुहुन्छ । 

अब कुनै पनि मन्त्रालयलाई काम नगरी बस्न छुट नहुने उहाँले बताउनुभयो । ‘जसरी पनि आफ्नो प्रगति देखाउन काम गरेर देखाउनै पर्ने बाध्यता आएको छ’, उहाँले भन्नुभयो, ‘यसले सरकारको समग्र काममा प्रगति देखाउने निश्चित छ ।’
 

अन्तिम अपडेट: चैत १४, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया