नमुना गाउँ बन्दै गरेको बस्तीमा पहिरो र जमिन कटानको समस्या, बस्ती जोगाउन स्थानीयवासीको गुहार

 मंसिर ७, २०७५ शुक्रबार १६:१६:४६ | डीबी बिष्ट
unn.prixa.net

बझाङ –  तल्कोट गाउँपालिकाको नमुना बस्ती पहिरो र नदीको कटानको उच्च जोखिममा रहेको छ । तल्कोट गाउँपालिका वडा नम्बर ३ को बस्टी गाउँ पहिरो र जमिन कटानको उच्च जोखिममा परेको छ ।

गाउँभन्दा माथिबाट दुईवटा सडक र बस्तीभन्दा मुनि सेती नदीले जमिन कटान गर्न थालेपछि बस्ती जोखिममा परेको हो । बस्तीमुनिबाट पहिरो जान थालेपछि नमुना बस्ती नै पहिरोको उच्च जोखिममा परेको छ ।

बस्तीभन्दा माथि ताक्लाकोट सडक खण्ड र शाखा सडक निर्माण भएपछि गाउँमा पहिरो खस्न थालेको ७१ वर्षका स्थानीय बासिन्दा कृष्ण रोकायाले बताउनुभयो । बस्तीमुनि भएर बग्ने सेती नदीले यो वर्ष पानी बहने धार परिवर्तन गरी गाउँको जमिन कटान गर्न थालेपछि यहाँका स्थानीय बासिन्दा झन जोखिममा परेको उहाँको भनाई छ ।

यस बर्खाको समयमा सेती नदीले धार परिवर्तन गरी आफूहरुको कमाई खाने खेत समेत बगाएको र आधाभन्दा बढी खेतीयोग्य जमिनमा सडकबाट पहिरो पसेको स्थानीयवासी कुम्भराज रोकायाले बताउनुभयो । 

आफ्नो कमाई खाने खेत समेत तलबाट सेती नदीको कटान र माथिबाट सडकको पहिरोले पुरेको उहाँको भनाई छ । आठ सय ४१ जनसंंख्या रहेको यस बस्तीका स्थानीय बासिन्दा बर्खाको समयमा गाउँमा असुरक्षित महसुस गर्दै गाउँ नै छोडेर लेकमा बस्ने गरेको हर्क रोकायाले बताउनुभयो ।

बर्खाको समयमा बस्ती माथिबाट पहिरो र ढुङ्गासँगै आउने र तलबाट नदीले जमिन कटान गर्दै पहिरो झर्न थालेपछि गाउँ बग्ने त्रासले बस्तीका सबै स्थानीय बासिन्दाहरु लेकमा गएर बस्ने गरेका छन् । गएका वर्षमा त्यस्तो जोखिम रहेको थिएन । यस वर्ष सेती नदीले धार परिवर्तन गरेर गाउँ मुनिबाट जमिन कटान गर्न थालेपछि बस्ती नै बग्ने जोखिम बढेको हो ।

यस बस्तीलाई नमुना बस्ती बनाउनका लागि जनसंख्या तथा वातावरण मन्त्रालयले जनश्रमदानसहित २७ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । नमुना बस्ती निर्माणको काम पनि सुरु भएको छ तर अहिले बस्ती नै बग्ने जोखिम भएको स्थानीयवासीले गुनासो गरेका छन् ।

नमुना बस्ती बनाउनका लागि गाउँपालिका, वडा पालिका र विभिन्न संघ संस्थाहरुले समेत सहयोग गरेको यहाँका स्थानीय बासिन्दाले बताएका छन् । नमुना बस्ती बिस्तारका लागि भन्दै ६ वटा सिँचाई ट्याङ्की, घर–घरमा पानीका धारा, सुधारिएको गोठ, बगैँचा निर्माण, करेसाबारी निर्माणजस्ता काम भैरहेको छ ।

तर नमुना बस्ती बन्ने भयो भनेर खुसी भएका यहाँका स्थानीय बासिन्दामा अहिले निराश भएका छन् । नमुना बस्ती बनाउनको साटो बस्ती बचाउनका लागि सहयोग गरिदिन अनुरोध गर्दै वडा पालिका र गाउँपालिका आफूहरुले गुनासो गरेको स्थानीय बासिन्दा हर्क रोकायाले बताउनुभयो ।

आफूहरुको गुनासो कतै सुनुवाई नभएको स्थानीयवासीको भनाई छ । चारपट्टी पानीका मुहान र प्रशस्त खेतहरु रहेको यो बस्ती अहिले पहिरो र कटानको उच्च जोखिम छ । नमुना बस्ती बनाउनुभन्दा पहिला नदीको कटान र पहिरोबाट बस्तीलाई बचाइदिन स्थानीयवासीले गुहार मागेका छन् ।

सम्पूर्ण जनप्रतिनिधिहरुलाई हारगुहार गर्दा समेत आफूहरुको पहुँच नभएका कारण समस्याको सुनुवाई नभएको स्थानीयवासीले बताएका छन् । वडा नम्बर ३ का वडा अध्यक्ष भरत बोहराले आफ्नो क्षेत्रबाट बस्ती जोगाउन सम्पूर्ण पहल गरेको बताउनुभयो । उहाँले गाउँपालिका र प्रदेश सरकारले मागको सुनुवाई नगरेको गुनासो गर्नुभयो ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया