८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा हुन्छ : बिष्ट

 मंसिर ७, २०७५ शुक्रबार १७:२४:४६ | गोविन्द शर्मा
unn.prixa.net

बाँके –  राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव बिष्टले ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमा सम्पन्न हुने बताउनुभएको छ ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा सदस्य सचिव बिष्टले राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि पनि सार्नुपर्ने कुनै कारण नभएको बताउनुभयो ।

बिष्टले अब पनि तोकिएको मितिमा प्रतियोगिता हुन नसके प्रतियोगिता एक वर्षपछि धकेलिन सक्ने उहाँले बताउनुभयो । प्रतियोगिता आउँदो माघ २५ देखि फागुन ३ गतेसम्म नेपालगञ्जमा हुने गरी मिति तोकिएको छ ।

प्रतियोगिता सञ्चालन हुने भौतिक संरचनाको अहिलेसम्म झण्डै ६० प्रतिशत काम सम्पन्न भएको जानकारी दिँदैं बिष्टले बाँकी काम पनि छिट्टै सम्पन्न हुने बताउनुभयो । आठौं प्रतियोगिता अन्तर्गत ४२ करोड रुपैयाँ खर्च हुने बिष्टले जानकारी दिनुभयो । बिष्टले १८ करोड प्राप्त भइसकेको र २४ करोड प्राप्त हुन बाँकी रहेको जानकारी दिनुभयो ।

पूर्वाधार निर्माणका लागि अझै ७२ करोड रुपैयाँ आवश्यक परेको उहाँको भनाई थियो । भौतिक संरचना निर्माणका लागि एक अर्ब १० करोड रुपैयाँ अनुमान गरिएकोमा  अहिलेसम्म झण्डै २३ करोड रुपैयाँ निकासा भएको र १४ करोड रुपैयाँ विनियोजन भएको उहाँले बताउनुभयो ।

३५ वटा खेलमध्ये पौडी गर्मी समयमा नेपालगञ्जमा हुने छ । यसवर्ष थप गरिएको प्याराग्लाइडिङ पोखरामा सम्पन्न गर्ने तयारी छ । प्रतियोगिता अन्तर्गतका खेलहरु बाँके, बर्दिया, दाङ, रुपन्देही र कपिलवस्तुमा हुने मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले बताउनुभयो ।  

प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्या भण्डारी र समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया