वाइडबडी विमान खरिद प्रक्रियामा मेरो कुनै संलग्नता छैन : मन्त्री अधिकारी

 मंसिर ७, २०७५ शुक्रबार १७:४०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको दाबी गर्नु भएको छ ।

मन्त्री अधिकारीले आफू मन्त्री हुनुअघि नै वाइडबडी विमान खरिदका लागि आवश्यक सबै प्रक्रिया पूरा भएकाले त्यसमा आफ्नो संलग्नता नभएको बताउनु भएको हो ।

शुक्रबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा वाइडबडी विमान खरिदका सम्बन्धमा ठूलो आर्थिक अनियमितता भएको आशंका गर्दै समितिका सदस्यहरुले प्रश्न उठाएका थिए । त्यसको जवाफमा मन्त्री अधिकारीले विमान खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेकोे स्पष्टिकरण दिनुभयो ।

मन्त्री अधिकारीले आफू मन्त्री भएकाले विमान खरिद सम्बन्धी उठेका प्रश्नको जवाफ दिन भने नैतिक रुपमा पनि आफू तयार रहेको बताउनुभयो । उहाँले विमान खरिदसम्बन्धी उठेका प्रश्नबारे समितिले उपसमिति बनाएर छानबिन गरोस् भन्ने आफूले चाहेको पनि स्पष्ट पार्नुभयो । मन्त्री अधिकारीले विमान खरिद सम्बन्धमा समितिलाई छानबिन गर्न आफूले सबै कागजात उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमको भविष्य राम्रो रहेको उल्लेख गर्दै त्यसभित्रको कमी कमजोरीलाई लिएर कमजोर बनाउने कुरा भने आफूलाई सैह्य नहुने चेतावनी पनि दिनुभयो । उहाँले निगम व्यवस्थापन भित्र विकृती रहेको स्वीकार गर्दै त्यसलाई सुधारको मार्गमा अघि बढाउन पनि समितिका सांसदहरु समक्ष पटक–पटक आग्रह गर्नुभयो ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव एवम् नेपाल वायु सेवा निगमका अध्यक्ष कृष्णप्रसाद देवकोटाले वाइडबडी विमान खरिद प्रक्रियामा असर नपर्ने गरी छानबिनका लागि समितिलाई आवश्यक पर्ने सबै आवश्यक कागजात उपलब्ध गराउने बचन दिनुभयो ।

नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगममाथि बारम्बार कमिशन खाएको आरोप लाग्ने गरेको भन्दै गुनासो गर्नुभयो । उहाँले निगमसँग आर्थिक अवस्था कमजोर भएकाले वाइडबडी विमान उडान भर्नका लागि समस्या भइरहेको पनि समितिलाई जानकारी दिनुभयो ।

महाप्रबन्धक कंसाकारले वाइडबडी विमान खरिद पारदर्शी भएको दाबी गर्नुभयो ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया