टुहुरा बने शशीका सन्तान, अस्पतालमा कुर्ने समेत कोही भएनन्

 मंसिर ७, २०७५ शुक्रबार १९:६:४७ | विमल बिष्ट
unn.prixa.net

डोटी – डडेलधुरा–दिपायल जोड्ने डाक्टर केआईसिंह राजमार्गमा शुक्रबार साँझ भएको स्कुल बस दुर्घटनामा परि डोटीको दिपायल सिलगढी नगरपालिका–४ बस्ने ३५ वर्षीया शशी विकको ज्यान गयो । विकको ज्यान गएपछि उहाँका नाबालक दुई सन्तान टुहुरा भएका छन् ।

आमैसँगै अमरगढीनगरपालिकामा रहेको उग्रतारा मेला हेर्न गएका शशी विकका दुई सन्तान पनि दुर्घटनामा घाइते भएका छन् । ६ वर्षका छोरा नबिन विक गम्भीर घाइते छन् । उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरेको छ । अर्की १२ वर्षीया छोरी दीपा विक पनि दुर्घटनामा परिन् । उनको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आमाको ज्यान गएपछि घाइते भएका नबिन र दीपा बेसाहरा भएका छन् । स्थानीयवासी कल्पना कामीका अनुसार विगत पाँच वर्षदेखि शशीका श्रीमानको अत्तो पत्तो छैन । बुवाको माया ममता नपाएका उनीहरुले अब आमालाई पनि कहिल्यै देख्न नपाउने भएका छन् । नाबालक ती दुई बालबालिकाको हेरभाह अब कसले गर्ने भन्ने चिन्ता थपिएको छ ।

‘साहरा दिने आमा बित्नुभयो, बाबुको पत्तो छैन, खाना दिने मान्छे पनि छैन’, स्थानीय राम बिकले भन्नुभयो, ‘कलिलो उमेरमा छोराछोरी टुहुरा भए ।’ दिपायलको पिपल्लामा घर जमिन भएपनि बस घटनामा परि घाइते भएका ती बालबालिकालाई अस्पतालमा हेरचाह गर्ने मान्छेसम्म छैनन् ।

दिपायल पिपल्लामा रहेको एक उद्योगमा शशीले काम गरेर छोराछोरी पाल्नुभएको थियो । उहाँले नोकरी गरेर भए पनि छोराछोरी बोर्डिङ स्कुलमा पढाउँनु भएको थियो । तर अब उनीहरुले आफ्नो आमा कहिल्यै नभेट्ने भएका छन् । बावुको पनि अत्तोपत्तो छैन । उनीहरुको उपचार तथा लालनपालन कसले गर्ने भनेर स्थानीय चिन्तित भएका छन् ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया