राष्ट्रपतिको गाडी किन्न युवाहरुले भिख मागे, संकलित पैसाबाट खेलौना गाडी उपहार दिइने

 मंसिर ८, २०७५ शनिबार १३:३७:४४ | उज्यालो सहकर्मी

काठमाडौं – केही युवाहरुले राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा  भिख मागेका छन् । 

जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधाहरु सम्बोधन हुनुको साटो जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै युवाहरुले सांकेतिक विरोधस्वरुप एक रुपैयाँ भिख मागेका हुन् । सरकारले १८ करोड खर्च गरेर राष्ट्रपतिका लागि बुलेटप्रुफ गाडीसहितको सवारी साधन किन्ने निर्णय गरेपछि त्यस निर्णयको चौतर्फी विरोध भइरहेका बेला स्वतस्फुर्तः रुपमा युवाहरु भिख माग्ने कार्यक्रमा सहभागी भएका हुन् । 

शनिबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा भेला भएका युवाहरुले ‘दान गर्नुहोस् पूण्य कमाउनुहोस्’ भन्दै सर्वसाधारणसँग एक–एक रुपैयाँ भिख मागेका हुन् । 

१८ करोड रुपैयाँको  गाडी चढ्ने नेपालीको हैसियत नभएको र राज्यको ढुकुटी रित्याएर कसैको पनि विलासिताको चाहना पूरा गराउन जनताले सरकारलाई म्याण्डेट दिन नसक्ने भन्दै युवाहरुले निर्णयको विरोध गरेका छन् ।

युवाहरुले पशुपति वनकाली क्षेत्रमा बसेर दर्शनार्थी, बटुवा, बालबालिका बुढाबुढी सबैसँग भिख मागेका थिए ।
युवाहरुले संकलित रकमबाट खेलौना गाडी किनेर राष्ट्रपति कार्यालयलाई बुझाउने बताए ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया