सप्तरी बस दुर्घटना अपडेट : पाँचजना मृतकका परिवारलाई राहत, ३४ जनाको उपचार हुँदै

 मंसिर ८, २०७५ शनिबार १३:५१:१७ | शुभनारायण यादव
unn.prixa.net

फाइल तस्बिर

सप्तरी – सप्तरीमा तीर्थयात्री बोकेको बस पोखरीमा खस्दा एकै वडाका पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा ३४ जना घाइते भएका छन् ।

सुनसरीको बराह क्षेत्र र चतराधाम दर्शन गरेर फर्किने क्रममा को १ ख २७९९ नम्बरको बस सप्तरीको भारदह–राजविराज सडकखण्ड अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका १० को इनरुवा चोक नजिकै दुर्घटना भएको थियो ।

बस पोखरीमा पल्टिँदा डाकनेश्वरी नगरपालिका–५, भुतहिका ५५ वर्षीय दिनेश रजक र ५० वर्षीया बउकिदेवी रजक, ७० वर्षीया बेचनीदेवी यादव, ६० वर्षीया शिकिलादेवी साह र ६० वर्षीया भुखनीदेवी यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।

६७ जना यात्रु सवार बस दुर्घटनाका घाइतेमध्ये ११ जनाको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, ३ जनाको विराटनगरको न्यूरो अस्पताल र ३४ जनाको राजविराजको सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । विराटनगरमा उपचाररत तीन जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।  दुर्घटनापछि बसका चालक फरार रहेका छन् ।

शुक्रबार राति तीर्थयात्री बोकेको बस दुर्घटनामा पाँच जनाको शोक मनाउन आइतबार सप्तरीका सबै स्थानीय तह बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला समन्वय समिति सप्तरीको राजविराजमा सम्पन्न बैठकले शोक मनाउन स्थानीय तहका कार्यालय एक दिन बन्द गर्ने निर्णय भएको समन्वय समितिका संयोजक प्रभाकर यादवले जानकारी दिनुभयो । सप्तरीमा ९ नगरपालिकासहित १८ स्थानीय तह रहेका छन् ।

डाकनेश्वरी नगरपालिकाले मृतकका परिवारलाई राहत स्वरुप प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराएको छ । घाइतेको उपचारमा समेत नगरपालिकाले सहयोग गरिरहेको डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साहले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया