निर्मलाको हत्यारा पत्ता लगाएर हाम्रो पार्टीले कारबाही गर्छ : प्रकाण्ड

 मंसिर ८, २०७५ शनिबार १६:२५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ ले देश अहिले विदेशीको नियन्त्रणमा रहेको बताउनुभएको छ ।

ठूला परियोजना आफ्नो स्वार्थका लागि राष्ट्रलाई दाउमा राखेर विदेशीको पाउमा चढाउने प्रवृतिले देशमा विदेशीको हस्तक्षप बढेको उहाँको भनाई छ ।भृकुटीमण्डपमा भएको जनसभालाई सम्बोधन गर्दै प्रकाण्डले देशलाई टुक्रा–टुक्रा पार्ने षड्यन्त्र देश बाहिर र देश भित्रैबाट चलिरहेको दाबी पनि गर्नुभयो । 
प्रकाण्डले ओली सरकार बनेपछि देशमा थुप्रै राष्ट्रघाती कामहरु अगाडि बढेको आरोप लगाउनुभयो ।

बुढिगण्डकीको काम प्रचण्डले चीनलाई दिने, देउवाले भारतलाई दिने र ओलीले फेरि चीनलाई दिने परिपाटीबाटै देश विदेशीको चलखेलमा रहेको प्रष्ट हुने प्रकाण्डको भनाई थियो । उहाँले डरलाग्दो रुपमा देशमा राष्ट्रघात रहेकाले नागरिकलाई देश रहन्छ वा रहँदैन भन्ने चिन्ता रहेको बताउनुभयो ।

समृद्धिको नारा दिने सरकार नै देश विकासको मुख्य बाधक रहेको प्रकाण्डको जिकिर छ । ‘नेपालका संसदवादीहरु भ्रष्टाचार गर्नकै लागि जन्मिएको, दलाल गर्न जन्मिएको जस्तै देखिएको छ’ प्रकाण्डले प्रश्न गर्नुभयो, ‘हिजोका भूइँफुट्टा मान्छेहरु आज कसरी रातारात करोडपति बने ?’

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय २२ दिन बितिसक्दा पनि हत्यारा पत्ता नलाग्नुले घटनामा सरकारकै संलग्नता रहेको प्रष्ट हुने  प्रकाण्डको आरोप छ ।

‘निर्मला काण्डमा सरकारले केही गर्न सक्दैन’, प्रकाण्डले भन्नुभयो, ‘हाम्रो पार्टीले अपराधि पत्ता लगाएर कारबाही गर्छ ।’ उहाँले आफूहरुले वैज्ञानिक समाजवाद ल्याउन २०६२÷६३ को आन्दोलन गरे पनि देश दलल पूाजीवादको हातमा गएको बताउनुभयो ।

‘दलाल पूँजीवादी वर्ग नै नेपालको विकासको बाधक हो । अहिलेका राजनीतिक दललाई शहीद, किसान, गरीबको चिन्ता छैन, सत्तामा जाने मात्रै चिन्ता छ’, प्रकाण्डले भन्नुभयो ।

‘सरकारका मन्त्रीहरुको काम भनेको भष्ट्रचार र कमिसन खाने भएको छ । ओलीले भष्ट्राचार देखेर पनि बुच पचाउनु भएको छ’, नागरिक उड्यन मन्त्रालयको कुरा निकाल्दै प्रकाण्डले  भन्नुभयो, ‘६ अर्बभन्दा बढी भ्रष्टाचार भएको ओलीलाई किन थाहा नभएको ?’


 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया