प्रधानमन्त्रीका कारण संघीयता खतरामा छ : गगन थापा

 जेठ २८, २०७५ सोमबार १९:३१:४९ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगन थापाले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि सबैभन्दा बढी खतरा प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको गम्भीर आरोप लगाउनु भएको छ ।

नेता थापाले यो व्यवस्थालाई जोगाउने दायित्व आफ्नो पार्टीको रहेको दाबी गर्नुभयो । सोमबार काठमाडौंमा आयोजित नेपाल विद्यार्थी संघको एक कार्यक्रममा बोल्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पूर्व राजा ज्ञानेन्द्र शाह र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट खतरा रहेको चर्चा हुने गरे पनि सबैभन्दा बढी खतरा दुई तिहाई बहुमतको नेतृत्व गरेर सरकार संचालन गरिरहेका प्रधानमन्त्री ओलीबाट रहेको दाबी गर्नुभयो ।

नेता थापाले अमेरिका, फिलिपिन्सलगायतका मुलुकहरुमा पनि निर्वाचित राष्ट्रपतिबाटै लोकतन्त्रमाथि खतरा रहेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको दाबी गर्दै नेपालमा पनि त्यसको अंशको रुपमा त्यो कुरा देखिएको तर्क गर्नुभयो ।

नेता थापाले हारको मानसिकता बोकेर कांग्रेस अघि बढन नसक्ने पनि स्पष्ट पार्नुभयो । कांग्रेस नेतृत्वमा संविधान जारी भएको, निर्वाचन सम्पन्न भएको भन्दै अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अघि बढ्ने दायित्व पनि कांग्रेसकै भएको नेता थापाको तर्क छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया