ए डिभिजन लिग: हिमालयन शेर्पाकाे अपराजित यात्रा कायमै, जाउलाखेल दुई एकले पराजित

 मंसिर ८, २०७५ शनिबार १७:१४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पाले शनिबार जाउलाखेल युथ क्लबलाई दुई एकले हराउँदै आफ्नो जितको यात्रालाई निरन्तरता दिएको छ ।

हलचोकमा भएको खेलमा हिमालयन शेर्पाले खेलको सुरुवात देखि नै जाउलाखेल माथि दबाब बनाएको भए पनि पहिलो हाफमा गोल गर्न सकेन । यता जाउलाखेलले सुरुवातमा पाएका दुई मौका चुकाउन पुग्यो ।

खेलको ६६ औं मिनेटमा कर्ण लिम्बूले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाए । विश्वास श्रेष्ठको प्रहार डिफ्लेक्ट भएर आएको बेललाई कर्णले गोलमा परिणत गरे । त्यसपछि ७५ औं मिनेटमा फेरि कर्ण लिम्बुले नै गोल गर्दै अन्तर दुई शून्यमा पुर्याए ।

७८ औं मिनेटमा शेर्पाले फेरि अर्को मौका पाए पनि सदुपयोग गर्न सकेन । खेलमा दुई शून्यले पछि परेको जाउलाखेलले ८६ औं मिनेटमा एक गोल फर्कायो ।

शेर्पाका गोलकिपर र डिफेन्डरको तालमेल नमिल्दा जाउलाखेलका अनिश गुरुङले गोल गरे । खेलको अन्तिममा पनि जाउलाखेलले गोल उत्कृष्ट मौका खेर फाल्दा हार ब्यहोर्यो । 

जितसँगै हिमालयन शेर्पा तीन खेलबाट सात अंकका साथ लिगको तेस्राे स्थानमा उक्लिएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया