संसारभरि आर्इएनजीओ सरकारको अण्डरमा हुन्छ, नेपालमा सरकार आर्इएनजीओको अण्डरमा देखियो : कांग्रेस प्रवक्ता शर्मा

 मंसिर ८, २०७५ शनिबार १७:३४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - युनिभर्सल पिस फेडरेसन (यूपीएफ) को नेपाल शाखाले काठमाडौंमा आयोजना गर्न लागेको एसिया प्यासिफिक सम्मेलनमा नेपाल सरकार सह-आयोजक बनेकोप्रति नेपाली कांग्रेसले आपत्ति प्रकट गरेको छ ।  

एउटा आर्इएनजीओले गर्ने सम्मेलनको सरकार सह-आयोजक हुनु गलत रहेको रहेको भन्दै त्यसमा नेपाल सरकार र संसदको लोगो प्रयोग हुनु झनै गम्भीर भूल भएको कांग्रेसको ठहर छ । 

कांग्रेसले पत्रकार सम्मेलन गर्दै निर्मला काण्डमा नभेटिएको सरकार कुनै आर्इएनजीओको सह-आयोजकको रुपमा भेटिनु दुखद भएको बताएको हो । 

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफूले केही दिनअघि सरकार कहाँ छ भनेर गरेको प्रश्नको उत्तर यहाँ भेटिएको बताउनुभयो । 

‘सुनसरीका फिदा हुसेन हत्या, कपिलवस्तुका दिपेन्द्र चौधरीको हत्यामा सरकार भेटिँदैन,’ प्रवक्ता शर्माले भन्नुभयो, ‘सरकार कहाँ छ भन्दा, सरकार त कुनै आर्इएनजीओको सह-आयोजकको रुपमा पो रहेछ । यो त गम्भीर विषय हो ।’ 

एउटा आर्इएनजीअाे आयोजक हुने र सरकार सह-आयोजक हुनु सामान्य नभई गम्भीर आपत्तिको विषय भएको उहाँले बताउनुभयो । 

‘संसारभरि आर्इएनजीओ सरकारको अण्डरमा हुन्छ,’ शर्माले भन्नुभयो, ‘नेपालमा भने सरकार आइएनजिओको अण्डरमा देखियो ।’  

‘चर्चामा आए अनुसारको कुरा गर्दा यो कुनै धर्मको प्रचारका लागि भएको भनिएको छ,’ शर्माले भन्नुभयो, ‘यो देशको संविधानले धर्म निरपेक्षतालाई अनुसरण गर्छ । तर सरकार नै कुनै एक धर्मको प्रचारमा सह-आयोजक बन्छ भने यो संविधानको बर्खिलाफ हो ।’ 

मंसिर १४ देखि सुरु हुने भनिएको सम्मेलनमा ‘एड्रेसिङ द क्रिटिकल च्यालन्जेज अफ आवर टाइमः इन्टरडिपेन्डेन्स, म्युचुअल प्रोस्पेरिटी एण्ड युनिभर्सल भ्यालुज’ शीर्षकमा छलफल हुने आयोजक यूपीएफले जनाएको छ ।  

सम्मेलनमा शान्ति र विकास, जलवायु परिवर्तन, सुशासन, द्वन्द्व समाधान, विवाह र परिवार, दीगो विकास लगायतका विषयमा छलफल हुने उल्लेख छ ।  

‘न्यु क्रिस्चियन’ धर्म प्रचारका लागि युनिभर्सल पिस फेडरेसन (यूपीएफ) २००५ मा स्थापना भएको कोरियन संस्था हो । यसको नेपाल अध्यक्ष पूर्वमन्त्री एवं व्यवसायी एकनाथ ढकाल हुन् ।  

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया