सकियो चौमासिक समीक्षा बैठक, अर्को पटक शतप्रतिशत ‘रिजल्ट’ देखाउन प्रधानमन्त्रीको निर्देशन

 मंसिर ८, २०७५ शनिबार १८:४५:२१ | नवराज फुयाँल
unn.prixa.net

काठमाडौं – बुधबारबाट सुरु भएको विभिन्न मन्त्रालय र निकायले चालु आर्थिक वर्षको चौमासमा गरेका कामकाे समीक्षा बैठक शनिबार सकिएको छ ।

बैठकमा मन्त्रालयहरुले चालु आर्थिक वर्षको चौमासमा गरेका कामका प्रतिवेदन बुझाउनुका साथै गर्न नसकेका कामका बारेमा पनि ढिलाईका बारेमा प्रष्टिकरण दिएका थिए । संघीयताको संरचना निर्माण गर्नु पर्ने तथा विभिन्न ऐन नीति कार्यक्रमहरु तर्जुमा गर्नुपर्दा प्रथम चौमासमा उत्साहजनक काम नदेखिए पनि जग खन्ने काम भने भएको मन्त्रालयले पेश गरेको प्रतिवेदनमा उल्लेख गरिएको थियो । 

प्रधानमन्त्री स्वंयमले सबै मन्त्रालयका मन्त्री र सचिव राखेर प्रगति विवरण हेर्नु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताउनुभयो । विगतमा पनि अनुगमन जस्ता कार्यक्रम हुन्थ्यो तर यो सरकारले अब सबै मन्त्रालयका काम कारवाही सोझै सफ्टवेयर मार्फत अनुगमन गर्न मिल्ने बनाएकाले कुनै पनि मन्त्रालयले काम नगरी बस्नै नमिल्ने भएको कुँवरको भनाई छ ।  

बैठकमा प्रधानमन्त्रीले समीक्षा बैठक उपयोगी भएको भए पनि मन्त्रालयले पेश गरेका प्रतिवेदन तथ्यपरक आउनुपर्नेमा केही कमजोरी देखिएको बताउनुभएको थियो । अबदेखि अनुगमनको पनि अनुगमन हुने र त्यसको जिम्मेवारी नेपाल सरकारका मुख्य सचिवले लिने प्रवक्ता कुँवरको भनाइ छ । 

शनिबार पनि विभिन्न ७ वटा मन्त्रालयको चौमासमा भएका कामको समीक्षा भयो । शनिबार परराष्ट्र, अर्थ, गृह, कानुन, महिला बालबालिका, स्वास्थ्य र रक्षा मन्त्रालयको कामको समीक्षा भएको कुँवरले बताउनुभयो ।

प्रधानमन्त्रीले हिउँदे अधिवेशन सुरु हुनभन्दा अघि कानुनसँग बाझिएका सबै विधेयक तयार पारिसक्न पनि सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीले संविधानसँग कानुन बाझिएका छैनन् भने पनि काम गर्न अहिले कुनै कानुन बाधक छ भने त्यसलाई पनि सच्चाउन निर्देशन दिनुभएको प्रवक्ता कुँवरले बताउनुभयो ।

पहिलो चौमासको समीक्षामा अधिकांश मन्त्रालयका कामको प्रगति आशाजनक नरहेको र अर्को चौमासमा अहिलेका कामसमेत सक्ने गरी शतप्रतिशत रिजल्ट आउने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन रहेको उहाँले बताउनुभयो ।

कतिपय मन्त्रालयले तोकिएको काम सकेर पनि सफ्टवेयरमा हाल्न नभ्याएकाले प्रगति उत्साहजनक नदेखिएको र धेरै जसो मन्त्रालयको प्रगति भने आशातित नरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया