आर्इएमई नेपाल लिटरेचर फेस्टिभल-२०१८ काे कर्टेन रेजर कार्यक्रम सम्पन्न

 मंसिर ८, २०७५ शनिबार २०:२:५५ | उज्यालो सहकर्मी

काठमाडाैं - बुकवर्म फाउन्डेसनको आयोजना रहेको आर्इएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ (आर्इएमई नेपाल साहित्य महोत्सव २०७५) अन्तर्गत कर्टेन रेजर कार्यक्रम काठमाडौंमा शनिबार सम्पन्न भएकाे छ । 

एलिस रिसेप्सन, गैरीधारामा शनिबार आयोजित कार्यक्रममा भारतीय लेखक गुरचरणदासले मन्तव्य राखे । 

कार्यक्रममा आफ्नो पुस्तक काम: द रिडल अफ डिजायर माथि टिप्पणी गर्दै लेखक दासले भने, ‘आदिकालीन भारतसँग अर्थपूर्ण जीवनयापन गर्न सक्ने उपाय र उत्तर थियो । हाम्रा ऋषिमुनिहरुले तीन उद्देश्य प्रस्ताव गरेका थिए— धर्म, अर्थ र काम । धर्म भनेको नैतिक स्वास्थ्य हो । अर्थ भनेको भौतिक सुखसुविधा र तेस्रो काम हो । यी तीन कुरालाई मैले मेरा किताबहरुमा अझ नजिकबाट जान्न कोसिस गरेको छु ।’ 

पहिलो किताब इन्डिया अनबाउन्डमा भौतिक समृद्धिको विषय उठान गरेको उनले बताए । दोस्रो किताब द डिफिकल्टी अफ बिइङ गुड मा हाम्रो र देशको नैतिक जीवनको चर्चा गरेको उनले जानकारी दिए । साथै पछिल्लो किताब काम : द रिडल अफ डिजायरमा आफूले तृष्णाको चर्चा गरेको उनले अर्थ्याए ।  

कार्यक्रमका विशेष अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय रवीन्द्र अधिकारीले देशको सबैभन्दा महङ्खवपूर्ण साहित्यिक महोत्सवलाई सहयोग गरेकोमा आइएमई ग्रुपलाई धन्यवाद दिए । 

‘देशको समग्र समृद्धिका लागि आर्थिक विकास मात्र पर्याप्त हुँदैन । यसका लागि कला, साहित्य एवम् संस्कृतिको समृद्धि पनि आवश्यक हुने भएकाले नेपाल लिटरेचर फेस्टिभल जस्ता महोत्सव भइराख्नुपर्छ,’ उनले भने । 

कार्यक्रममा लेखक शिवानीसिंह थारुले आधुनिक नेपाली साहित्य २०औं शताब्दीसँगै अघि बढेको बताइन् । 

‘यसले पञ्चायत शासनबाट बच्दै आफूलाई अगाडि पनि बढायो । पछिल्लो समय नेपाली साहित्यले नयाँ रुपमा आफूलाई अघि बढाएको छ, ’ उनले भनिन् । अब नेपाली साहित्य अन्तर्राष्ट्रिय जगतमा पुग्ने समय भइसकेको उनको भनाइ छ । नेपाली साहित्य परम्परा र नेपाली साहित्यलाई विश्व साहित्यसँग जोड्ने समय पनि आइसकेको उनले बताइन्  । ‘त्यसो गर्न सक्छौं त ?’ उनले प्रश्न गरिन् र उत्तर पनि दिइन्, ‘मलाई लाग्छ, हामीले पक्कै सक्छौं ।’

कसरी गर्न सक्छौं त ? 

त्यसका लागि साहित्यिक उत्सव र सम्मेलनहरु आवश्यक हुन्छन् । यही क्रममा नेपाल लिटरेचल फेस्टिभलले पनि नेपाली साहित्यलाई विश्व साहित्यसँग जोड्न सघाउने उनको धारणा छ । 

कार्यक्रममा आर्इएमईका कार्यकारी निर्देशक सुमन पोखरेलले आर्इएमईलाई लिटरेचर फेस्टिभलमा प्रायोजनको अवसर दिएकोमा बुकवर्म फाउन्डेसनलाई धन्यवाद दिए । आर्इएमईले सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि काम गरिरहेको र यस्ता महोत्सव आदिमा पनि सहकार्य गरिरहने उनले प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा गायक धर्मेन्द्र सेवानले रेसम फिरिरीलगायत पाँच ओटा गीत गाएका थिए । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया