कपिलवस्तु गोलीकाण्ड : आरोपित पाण्डेयको घरमा आगजनी गर्दा २ करोडभन्दा बढीको क्षति

 मंसिर ८, २०७५ शनिबार २०:१०:३५ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – गएराति गोली प्रहार गरी हत्या गरिएका स्थानीय नेता राजाबाबु चौधरीको हत्याको आरोप लागेका शुद्धोधन गाउँपालिका वडा नम्बर ४ मोतीभारीका अजित पाण्डेयको घरमा आगजनी गरिएको छ ।

स्थानीय नेता चौधरीको हत्या अजित पाण्डेयले गरेको भन्दै हत्याको विरोधमा पाण्डेयको मोतीभारीमा हरेको २ तल्ले घर, गोठ, गोदाम आगजनी गर्दा झण्डै २ करोड रुपैयाँ मूल्य बराबरको क्षति भएको हो ।

हत्यामा संलग्न रहेका मुख्य आरोपित अजित पाण्डेय फरार रहेका छन् । घटनाबारे अनुसन्धानका लागि प्रहरीले आरोपित पाण्डेयका दाजु अमित पाण्डेय र स्थानीय युवा दीलिप नाउलाई पक्राउ गरेको छ । आक्रोशित भीडले आरोपित पाण्डेयको घर र घर आसपासका सबै भौतिक सम्पत्तिमा आगजनी गरी पूर्ण रुपमा ध्वस्त पारेका छन् ।

आगजनीबाट १ थान ट्याक्टर, १ थान हार्वेस्टर कम्वाइन, ४ थान मोटरसाइकलमा, २ तल्ले घर, घर अगाडिको गोडठ गोदाम सबै नष्ट भएको छ । यसै गरी आक्रोशित भीडले आरोपित पाण्डेको घरमा आगजनी गर्ने प्रयासलाई नियन्त्रणमा लिन खोज्दा सर्वसाधारण र प्रहरीबीच झडप समेत भएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताउनुभयो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन बढी हवाइफायर र गोली समेत चलाएको छ । झडपका कारण सशस्त्र प्रहरी निरीक्षक गोविन्द श्रेष्ठको हातमा चोट लागेको छ । थप २ जना प्रहरी पनि घाइते भएका छन् ।

आक्रोशित भीडले हत्याको विरोधमा हत्या आरोपित पाण्डेयको लवनी चोकमा रहेको परमिला आयल सेन्टरमा पनि आगजनीको प्रयास गरिरहेका छन् । पेट्रोल पम्पको सुक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको ठूलो संख्यामा उपस्थिति रहेको छ ।

हत्या आरोपित पाण्डेय पक्राउ नपर्दासम्म मृतक परिवारले शवको दाह संस्कार नगर्ने जनाएका छन् । स्थितिलाई नियन्त्रणमा लिन र वार्ताको प्रयास गर्न प्रहरी प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारी, नेपाल प्रहरीका उपरीक्षक अच्युतम पुडासैनीलगायतको टोली घटनास्थल लवनीमा रहेको छ । 


 

अन्तिम अपडेट: चैत ३०, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया