तारा यएरकाे जहाजभित्रै यात्रुको मृत्यु

 मंसिर ९, २०७५ आइतबार ७:५६:४७ | रासस
unn.prixa.net

मुगु – रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एयरको टुइनेटर जहाजमा एक यात्रुकाे ज्यान गएकाे छ । शनिबार दिउँसो साढे १२ बजे रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एयरलाइन्सको ९ एन एईटी कलसाइनको उडान नं ७१६ जहाजमा मुगु जिल्ला सोरु गाँउपालिका–८ गिलाहाँ गाँउका अन्दाजी ३८ वर्षीय धिरबहादुर शाहीको ज्यान गएको आफन्तले बताएका हुन् । 

यता तारा एयरलाइन्स नेपालगञ्ज स्टेशनका स्टेशन म्यानेजर सूर्यमणि सुवेधीले यात्रु जहाजभित्र अचेत भएको खबर आउनासाथ बिरामीलाई गाडीबाट अस्पतालतर्फ लैजाँदै गर्दा ज्यान गएकाे बताउनुभयो । रारा विमानस्थल तारा एअरका स्टेशन इञ्चार्ज शेरबहादुर भामले बिरामीलाई प्राथमिकता दिने प्रावधानअनुसार मृतक शाहीका आफन्तलाई बिरामी मन्जुरी पत्रमा दस्तखत गराई तारा एअरको उडानबाट पठाइएको बताउनुभयो ।

मृतकका दाइ नन्दबहादुर शाहीका अनुसार शाहीलाई जहाजमा उडाई सकेपछि आफू घर फर्कदै गर्दा बीचबाटोमा तारा एअरलाइन्सका दुई जना कर्मचारी र दुई जना प्रहरीले तपाईं नेपालगञ्ज जानुपर्ने भयो भन्दै पुनः रारा विमानस्थलमा लगेर कागज गराएका थिए । 

शव परीक्षणका लागि शव भेरी अस्पतालमा प्रहरीले लगेपनि आफन्तले यात्रु बीमा नपाउनन्जेलसम्म शव नबुझ्ने बताएका छन् । रारा नागरिक उड्डयान कार्यालय मुगुका विमानस्थल प्रमुख सूर्य शर्मा बिरामी अचेत भएपछि राँझा विमानस्थलमा जहाज अवतरण गर्ने वित्तिकै बिरामीलाई अस्पताल लगेको खबर आफूले पाएको र बिरामीका आफन्तले बिरामी उडान सहमतिपत्रमा दस्तखत गरेको बताउनुभयाे । 

तारा एअरको उडानमा मुगुबाट मृतक शाहीसहित १३ जना यात्रुहरु रहेका थिए । आफन्तहरुले बिरामीको जहाजभित्र ज्यान गएको बताए पनि विमानस्थलबाट अस्पतालतर्फ लैजाँदै गर्दा मृत्यु भएको दाबी गरेका छन् । बिरामी मन्जुरी पत्रमा सहमति नगराई यात्रामा रहेका कुनै यात्रुको जहाजभित्र मृत्यु भएमा उडान भर्ने कम्पनीले यात्रुलाई बीमा र क्षतिपूर्ती दिनुपर्ने प्रावधान नागरिक उड्डययन ऐनमा छ । 

 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया