नगरप्रमुख श्रेष्ठमाथि आक्रमण गर्ने बोगटी र लामा जेल चलान

 जेठ २८, २०७५ सोमबार २०:९:१९ | उज्यालो सहकर्मी

भक्तपुर – मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई आक्रमण गर्ने दुईजनालाई सोमबार भक्तपुर जिल्ला अदालतले पूर्पक्षका लागि जेल चलान गरेको छ ।

गएको वैशाख ८ गते शनिबार मध्यपुरथिमि गठ्ठाघरमा रहेको मेयर निवासमै श्रेष्ठमाथि आक्रमणम गर्ने कुशल बोगटी र सविन लामालाई भक्तपुर जिल्ला अदालतका न्यायाधिश भोजराज शर्माको इजलासले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि दुवैलाई डिल्लीबजार कारागार चलान गरिएको अदालतका इजलाश अधिकृत कमल महतले जानकारी दिनुभयो । 

कालिकोट रुप्सा ५ घरभई भक्तपुरको सल्लाघारी बस्ने ३५ वर्षका कुशल बोगटी विप्लव नेतृत्व नेकपा माओवादीका भक्तपुर जिल्ला सेक्रेटरी र दोरम्बा गाउँपालिका २ मानेडाँडा घरभई सानोठिमी बस्ने सविन लामा सोही पार्टीका जिल्ला सदस्य हुन् । 

आक्रमण पछि फरार रहेका मुख्य योजनाकार एवं आक्रमणकारी बोगटीलाई प्रहरीले जेठ १ गते पक्राउ गरेको थियो । आक्रमणमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वलमान महर्जनले जानकारी दिनुभयो ।

प्रहरीले आक्रमणकारी दुवैलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धा चलाएको थियो । 


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया