सार्वजनिक गाडीमा हुने हिंसाबाट यसरी जोगिन सकिन्छ (भिडियाेसहित)

 मंसिर ९, २०७५ आइतबार १३:४०:३३ | सजना तिमल्सिना

काठमाडौं – ‘सार्वजनिक गाडीमा यात्रा गर्दा जहिले पनि कराउनै पर्छ, गाडीमा यात्रारत कोही न कोहीलाई सम्हालेर बस्नुस् वा उभिनुस् नभनेको दिन नै हुँदैन’ गोरखाकी प्रभा मरहट्टाजस्तै धेरैले भोग्नुपर्ने साझा व्यथा हो यो । 

दैनिक हिँडेर पनि सकिंदैन । जसरी पनि गाडीमा चढ्नुपर्छ । सार्वजनिक गाडीमा धेरै महिलाहरुले दुर्व्यवहार भोग्नुपर्छ । सिटमा बस्दा पनि, उभिंदा पनि । धेरै त उभिंदा हुन्छ । ‘सिटमा कोही पुरुष बसेका छन् भनेर खुट्टा फट्याएर बस्छन्, हामी चाहिँ थोरै ठाउँमा अटाउनुपर्छ, अनि उनीहरु आरामदायी तरिकाले बस्छन् । कोही त गाडी हल्लिएको बहानामा हाम्रो संवेदनशील अंगमा छुन्छन् । कतिपल्ट भएको छ यस्तो मलाई । कहाँ भन्ने, के गर्ने ? म त हैरान भैसकें । अझ प्रायःजसो उनीहरु नै ठूलो स्वर गर्छन के गर्ने खै ?’ प्रभाले भन्नुभयो ।

सार्वजनिक यातायातमा यात्रा गर्ने उहाँ जस्ता धेरै महिला यस्तो हिंसा भोग्न बाध्य छन् । आफूमाथि हिंसा भैरहेको छ भन्ने थाहा पाउँदापाउँदै पनि उनीहरु प्रतिकार गर्न सक्दैनन् । अनि कतिले अरुसँग आफू हिंसामा परेको कुरा साट्छन् त कतिले लुकाउँछन् । यस्तो घटना फेरि नदोरियोस भनेर आफै सजक हुनु आवश्यक छ । यस्तो दुव्र्यवहार गर्नेबाट कसरी जोगिन सकिन्छ त ? 

विशेषगरी सार्वजनिक गाडीमा हुने भिडका कारण नै दुव्र्यवहारको शिकार हुने गरेको धेरैको अनुभव छ । यस्तो दुव्र्यवहार गर्ने व्यक्तिले एकैपल्ट तपाईंलाई आक्रमण गर्ने सोच भने बनाएको हुँदैन । उसले बिस्तारै बिस्तारै आँट बढाउँदै जाने भएकाले तपाईंले पहिलो तहमै उसलाई रोक्न सक्ने उपाय हामीसँग छन् । 

१. मौन प्रतिकार 

तपाईंलाई कसैले दुर्व्यवहार गर्न खोजेको शंका लागेमा तपाईले त्यसको मौन जवाफ दिनुपर्छ । कसरी दिने मौन जवाफ भन्ने लागेको होला ? कुनै गाह्रो छैन । तपाईंले गाडीमा उभिने तरिका परिवर्तन गर्नुपर्छ ।

सामान्यतया कुनै पनि व्यक्तिले जानीजानी तपाईसँग टाँसिएर संवेदनशिल अंग छुन खोज्नु नै यौन हिंसा हो । त्यसैले उसँगको दूरी बढाउन तपाईले ध्यान दिनुपर्छ । यौन हिंसाबाट बच्न तालिम दिने संस्था परित्राण रिस्क म्यानेजमेन्टका स्ट्राटेजिक प्लानर एवं निर्देशक विक्रान्तराज पाण्डेको सल्लाह यस्तो छ :

क. उभिंदा आफ्नो हात अलिकति खुम्चाएर बसको माथिको डण्डी समाउनुपर्छ । प्रायः हामीले सिधा हात गरेर डण्डी समाउँछौं, तर खुम्चाएर समाउँदा अलिकति भए पनि दायरा बनाउन हामी सफल हुन्छाैँ । 

ख. अर्को हात कम्मरमा राख्ने कुहिना चुच्चो हुने गरी । यसले तपाईंको छेउमा उभिएको व्यक्तिसँग दुरी बनाउन सहयोग गर्छ । 

ग. माथिको डण्डी समाउन नसक्नेले बसको सिटमा समाउन सक्नुहुन्छ । एउटा हातले आफू पनि थामिने गरी सिटमा समाउने अर्को हात कम्मरमा राख्ने, जसकारण आफूसँगै रहेको व्यक्तिसँग दूरी बढोस् । 

घ. साईड ब्याग बोक्नु राम्रो । विशेषगरी महिलाले बोल्ने झोला एउटा कुममा हुन्छ, तर एउटा कुमबाट अर्को पट्टिको कम्मरमा पुगे, त्यो राम्रो हुन्छ । 

यति गर्दा उसले तपाईंको भाव बुझेर हट्न सक्छ । तर माथिका कुरा लागू गर्दा पनि उ पछि हटेन भने तपाईं दोस्रो चरणमा जानुपर्छ । 

२. मौखिक आत्मरक्षा  

मौखिक आत्मरक्षा भनेको मौखिक रुपमा आफ्नो रक्षा गर्नु हो । बोलीको माध्यमबाट तपाईंले आफ्नो बचाउ गर्दा आक्रमक नहुने बरु हक्कीपन हुनु जरुरी छ । आक्रामक हुँदा आफैलाई घाटा हुन्छ । हक्कीपन हुँदा स्पष्ट कुरा गर्न सकिन्छ । ८० प्रतिशत कुराकानी हाउभाउकै आधारमा हुने भएकाले तपाईंले आप्नो कुरा हाउभाउबाट राख्न सक्नुहुन्छ । 

आक्रामक भन्दा पनि शान्तिपूर्ण समाधान गर्ने । त्यसको लागि उसको 
    अपमान नगर्ने 
    चुनौती नदिने 
    धम्की नदिने 
    थाहा नपाएजस्तो नगर्ने 
    धेरै बेइज्जत नगरी उसलाई बहिर्गमनको अवस्था सिर्जना गर्ने 

३.कानुनको सहयोग लिने  
महिला हिंसा न्यूनीकरण र नियन्त्रणका लागि विद्यमान कानुनमा मुलुकी ऐन २०२०, नेपालको अन्तरिम संविधान २०६३, राष्ट्रिय मानव अधिकार आयोग ऐन २०५३, यातनासम्बन्धी क्षतिपूर्ति ऐन २०५३, छाउपडी प्रथा उन्मूलन निर्देशिका २०६३, राष्ट्रिय महिला आयोग ऐन २०६३, लैङ्गिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन २०६३, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६३ र नियमावली २०६५, घरेलु हिंसा कसुर तथा सजाय ऐन २०६६ र नियमावली २०६७ तथा नेपालको संविधान २०७२ ले महिलामाथि हिंसा गर्नेलाई कारबाही गर्ने प्रशस्त व्यवस्था गरेको छ ।

४. हतियार 

यदि मौन प्रतिकार र मौखिक आत्मरक्षाभन्दा बाहिर गएर हिंसा नै हुन लाग्यो भने हामीले दैनिक रुपमा बोक्ने गरेको सामानलाई प्रतिरक्षाको लागि प्रयोग गर्न पनि सक्छौ । साँचो, कलम, छाता, पत्रिका आदिको प्रयोगले आफूलाई बचाउन सकिन्छ । अरुसँग सहयोग माग्न पनि सकिन्छ । नेपालमा कुनै व्यक्तिले बलात्कार गर्न खोज्दा उसको ज्यान गएमा सजाय नहुने कानुनमै उल्लेख छ । 

‘सबैभन्दा पहिला त यो अवस्था आउन नदिन हामी आफैं सजक भएर हिँड्नुपर्छ । सजक हुँदाहुँदै तपाई हिंसाको सिकार हुन लाग्नुभयो भने मात्र यी कुरा अपनाउन सकिन्छ’ पाण्डेले भन्नुभयो ।  

भिडियाेमा हेर्नुहाेस् । 

अन्तिम अपडेट: पुस १७, २०७५

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया