उद्योगीहरुले उद्योग स्थापनामा जोड दिएनन्, व्यापारी मानसिकता मात्रै राखे : उद्योगमन्त्री यादव

 मंसिर ९, २०७५ आइतबार १३:३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्योगीहरुको सरकारलाई हेर्ने दृष्टिकोण ठिक नभएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

मन्त्री यादवले उद्योगीहरुले सरकारको नीति, व्यवहार केही पनि ठिक नभएको भन्ने गरेकोमा आपत्तिसमेत जनाउनु भयो । उद्योग दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले उद्योगीहरुलाई व्यापारी मानसिकतामात्रै बोकेर नहिँड्न पनि सचेत गराउनु भयो ।

उद्योगीहरुले उद्योग स्थापनामा जोड नदिएर व्यापारी मानसिकता मात्रै राखेर ‘उल्टो बाटो’ लिएको मन्त्री यादवको आरोप छ । मन्त्री यादवले स्वदेशी उद्योगमा जोड दिएर अघि बढन पनि उद्योगीहरुलाई आग्रह गर्नुभयो ।

मन्त्री यादवले व्यापारीहरुले देशको भन्दा पनि आफ्नो मुनाफामा मात्रै ध्यान दिएको गुनासो पनि गर्नु भयो । उद्योग संचालनका लागि आवश्यक वातावरण नबनेको भनेर उद्योगीहरुले अन्तराष्ट्रिय लगानी आउने वातावरण पनि बिगार्ने गरेको उहाँको दावी छ ।

उहाँले स्वदेशी वस्तु उत्पादनमा उद्योगीहरुले जोड दिए त्यसका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको पनि दोहोर्‍याउनु भयो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया