ढोरपाटन आगलागी अपडेटः ३० घर जले, ४७ परिवार विस्थापित

 मंसिर ९, २०७५ आइतबार १५:२५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

बागलुङ – ढोरपाटन नगरपालिका ९ (ढोर) नवि गाउँका ३० घर पूर्ण रुपमा जलेका छन् । शनिबार राति २ बजे तिर शुरु भएको आगलागी आइतबार बिहान ८ बजे मात्रै निभाइएको थियो ।

आगलागीबाट नवि गाउँका ४८ परिवार बस्दै आएका ३० घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीपछि घटनास्थल ४८ परिवारको घर ध्वस्त बनेको ढोरपाटन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष हरिबहादुर घर्तीले बताउनुभयो ।

घरसहित आउँदो पाँच महिनाका लागि सञ्चित गरेर राखिएको खाद्यान्न समेत सबै जलेको छ । ढोरपाटन क्षेत्रका बासिन्दा फागुनदेखि असारसम्म माथिल्लो क्षेत्र नवि गाउँलगायतका स्थानमा बस्दै आएका छन् भने साउनदेखि माघसम्म बोबाङ, अधिकारीचौरलगायतका तल्लो क्षेत्रमा बसाइ सर्छन् ।

अहिले ढोरपाटनका बासिन्दा चिसो मौमसमा जाडो छल्न बेसी झरेका कारण मानवीय क्षति भने नभएको वडा अध्यक्ष घर्तीले बताउनुभयो । जलेका घरहरु नजिकै रहेका २३ घर भने आरक्षणमा कार्यरत कर्मचारी, नेपाली सेनाको सक्रियतामा जोगाउन सफल भएको गुल्मपति मेजर रविजंग खड्काले बताउनुभयो ।

ढोरपाटन शिकार आरक्षको सुरक्षार्थ उक्त क्षेत्रमा केही वर्षयता नेपाली सेनाको टोली बस्दै आएको छ । दुई चार जना चौकिदारको भरमा घर सम्पत्ति जिम्मा लगाएर स्थानीय तल्लो बस्तीमा झरेका थिए । आगो कसरी लाग्यो भन्ने खुल्न सकेको छैन । यद्यपी आगो लगाएको आशंकामा मानसिक असन्तुलन भएका एक स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई केही शंकास्पद गतिविधिका आधारमा सोधपुछका लागि पक्राउ गरिएको र घटनाबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले बताउनुभयो । 

घटनापछि ढोरपाटन नगरपालिकाले तत्कालीन राहतको घोषणा गरेको छ । आगलागीका कारण बस्ती नै उजाड भएकाल अग्निपीडित सबै परिवारलाई नयाँ घर बनाउन प्रति परिवार एक÷एक लाख प्रदान गर्ने निर्णय गरिएको नगरपालिकाका मेयर देवकुमार नेपालीले बताउनुभयो ।

हरेक घरको जस्ताको छानामा लाग्ने सम्पूर्ण खर्च भने आफूले व्यक्तिगत रुपमा प्रदान गर्ने मेयर नेपालीले बताउनुभयो । 


 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया