‘सांसदहरु टेम्पो चढेर संसद भवन जानुपर्ने अनि राष्ट्रपतिलाई किन चाहियो १८ करोडको महँगो गाडी ?’

 मंसिर ९, २०७५ आइतबार १६:४२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका नेता एवम् सांसद प्रदीप यादवले राष्ट्रपतिलाई गाडी खरिद गर्ने प्रकरणबारे आफूहरुले महँगो गाडी नचढ्ने राय दिएको बताउनुभयो ।

उहाँले गरिब देशमा महंगो गाडी आवश्यक नभएको बताउनुभयो । ‘गरिब देशलाई यत्रो महँगो गाडी किन चाहियो ?’, उहाँले प्रश्न गर्नुभयो । सांसद यादवले सांसदहरु टेम्पो र माइक्रो बस चढेर संसद भवन जानुपर्ने अनि राष्ट्रपतिलाई चाहीँ किन महँगो गाडी चाहियो भन्दै प्रश्न गर्नुभयो । ‘समृद्ध नेपाल र सुखी नेपाली बनाउनको लागि पनि महँगो गाडी खरिद गर्ने कुरा राम्रो होइन, हाम्रो राय भनेको महँगो गाडी खरिद गर्नुहुँदैन भन्ने नै हो’, सांसद यादवले थप्नुभयो ।

उहाँले महँगो गाडी खरिद गर्नेबारे हतारमा निर्णय भएकोले यसलाई तत्काल फिर्ता लिनुपर्ने पनि सुझाव दिनुभयो । ‘यो निर्णय परिवर्तन गर्नुपर्छ । १८ करोडको गाडी किन चाहियो ? हिजो हामीले पार्टी अध्यक्ष एवम् उप–पप्रधानमन्त्री उपेन्द्र यादवसँग दुई घण्टा छलफल गर्यौं । उहाँको राय पनि यही छ ।’

आफ्नो पार्टी संविधान संशोधनको लागि नै सरकारमा गएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘हामी जागिर खान सरकारमा गएका होइनौं । तर संविधान संशोधनको लागि दवाव दिइरहेका छौं । अहिले हडबड गर्दैनौं । सरकारलाई दवाव दिन कुनै कसर बाँकी राख्दैनौं ।’

अब पनि संविधान संशोधन नभएन आफ्नो पार्टी एक मिनेट पनि सरकारमा नबस्ने उहाँले स्पष्ट पार्नुभयो । ‘संविधान संशोधन चाँडो हुनुपर्छ । अब पनि भएन भने हामी सरकारबाट बाहिरिएर शान्तिपूर्ण तर दवावमूलक आन्दोलनमा जान्छौं ।’

अन्तिम अपडेट: बैशाख ७, २०८१

1 Comments

  • Dee

    Nov. 26, 2018, 7:36 a.m.

    ठीक छ नि चार पाङ्रे साइकल किनिदिनु न त, अगाडि बस्ने ड्राइभर, पछाडि राष्ट्रपती, बाँकी सुरक्षा साइकल मा अनी तं गधा को गाडी के गर्ने नि, एही हो प्रजातन्त्र, कोथे तँग्रे पाउरे सबै नेता, गति यस्तै हो हे जनता, खा ल्वाप्पा

  •  0 Reply

तपाईको प्रतिक्रिया