किसानको श्रम दलालले यसरी पार्छन् झ्वाम !

 मंसिर ९, २०७५ आइतबार १७:१९:१३ | टेकमान शाक्य
unn.prixa.net

२०७२ मा नेपालमा आएको भूकम्पले धेरैजनाको जनजीवनको धार परिवर्तन गर्यो । भूकम्पपछि लगत्तैको भारतको नाकाबन्दीले सर्वसाधारणको दैनिकीमा उथलपुथल नै ल्याइदियो । त्यसको शिकार म आफैँ भएको छु ।

भूकम्प र भारतले लगाएको नाकाबन्दीले मलाई गाउँ फर्कायो । म गाउँ गएँ । अनि सुरु गरेँ व्यवसायीक बाख्रा पालन र ब्रोइलर कुखुरा पालन । नाकाबन्दीले नै मलाई स्वभिमानी बन्नुपर्छ भन्ने पाठ पसकाएको थियो ।

आफैले उत्पादन गर्नुपर्छ र कृषिबाट देशको अर्थतन्त्र सुधार गर्नुपर्छ भन्ने सोचले मैले ब्रोइलर कुखुरा पालन र बाख्रा पालन सुरु गरेको थिए । ‘नमरी स्वर्ग देखिँदैन’ भनेजस्तै यो पेशामा लागेपछि मात्रै मैले त्यो क्षेत्रको दुख र पीडा बुझेँ । यहाँ आफूले यो क्षेत्रमा काम गर्दा भोगेको ‘दलाल’को दादागिरीका केही प्रसंग कोट्याउँदैछु ।

६८ किलो फरक भएको त्यो क्षण

म भर्खरै कुखुरा पालन व्यवसाय सुरु गर्दै थिएँ । धादिङबेसीको एक पोल्ट्री सप्लायर्ससँग मेरो कारोबार थियो । सप्लायर्समार्फत नै काठमाडौंमा १ गाडी कुखुरा लिएर हिँडे । नारान दाइ म सँगै काठमाडौं जानुभएको थियो । काठमाडौंमा ‘निक्कै काँटामा टाँका मार्छ’ भन्ने सुनेको थिएँ । म निक्कै सर्तक थिएँ ।

एक टिपमा ५ सय कुखुरा मात्रै अट्ने भएकाले झण्डै त्यही संख्यामा मात्रै कुखुरा लिएर हामी चाबहिल नजिकै एक कोल्ड स्टोर्समा पुग्यौं । कोल्ड स्टोर्समा दैनिक झण्डै ४ हजार कुखुरा एक बिहानमा काटिँदो रहेछ ।

त्यहाँ कुखुरालाई पुनः तौल गर्ने कुनै मौका नै थिएन । गाडीबाट १ ढक कुखुरा झिक्यो, काँटामा हाल्यो, अनि काटेर बजारमा सप्लाई गरिँदो रहेछ । चित्त नबुझेमा पहिले जोखिएको कुखुरा फेरि जोख्छु भन्न नपाइँने । किनकी पहिले जोखेका कुखुरा त बजारका पसल–पसलमा पुगिसक्छन् ।

खोरमा २२ सय ग्राम अर्थात २ किलो २ सय ग्रामको अनुपातमा कुखुराको तौल थियो । कुनै–कुनै त ३ किलोका पनि थिए । कुखुरा तौल गरेर भ्याइयो । नारान दाई गाडीमा कुखुरा हेरेर बस्दै हुनुहुन्थ्यो । म भित्र तौल लेख्न बसेको थिएँ । तौल लेख्न कोल्ड स्टोर्सका व्यक्ति पनि बसेका थिए । काठमाडौं आइपुग्दा कोल्ड स्टोर्सको काँटाले कुखुराको तौल अनुपातमा १ किलो ८ सय ग्राम मात्रै देखायो ।

जोखिएकामध्ये १ पटक ६८ किलो र अर्को पटक ६८ किलो १ सय ग्राम भएको थियो । मैले दुवैचोटीको तौल लेखें । तर कोल्ड स्टोर्सका ती व्यक्तिले एक पटक जोखेको ६८ किलो मात्रै लेखे । अर्को पटक जोखेको ६८ किलो १ सय ग्राम लेखेनन् । अन्त्यमा हिसाब गर्दा ६८ किलो १ सय ग्रामको फरक पर्यो । ती व्यक्तिले ६८ किलो मात्रै हो भने ।

अर्को पटक जाखिएको मेरो ६८ किलो १ सय ग्राम कुखुरा नै हरायो । व्यापारीले त्यत्रो कुखुरा नै गोलमोल बनाउन खोजे । म भन्छु, दुई पटक गरेर ६८ किलो र ६८ किलो १ सय ग्राम दुवै परिमाणको कुखुरा राखिएको छ। तर व्यापारीले एक पटक जोखेको कुखुराको मात्रै हिसाब देखाउँछन् ।

हामी दुईबीच मत बाझियो । म पनि आफूले मिहेनत गरेको फललाई त्यतिकै दिने पक्षमा थिइनँ । ६८ किलो भनेको त्यतिबेलाको १ सय ९० रुपैयाँ प्रतिकिलोको हिसाबले १२ हजार ९ सय २० रुपैयाँ हुन आउँछ ।

मैले ती व्यक्तिसँग त्यति धेरै बोल्न पनि मन लागेन । किनकी उसँग कुखुरा काट्न प्रयोग गरिने हतियार थियो । मलाई हतियारदेखि साह्रै डर लाग्छ, रीसको झोँकमा जे पनि हुन्छ जस्तो लाग्यो ।

झण्डै ४ घण्टा म, नारान दाई र ड्राइभर त्यही कोल्ड स्टोर्समा बसिरह्यौँ सञ्चालकलाई पर्खेर । सञ्चालक झण्डै चारघण्टापछि आइपुगे । अनि आफूले सबै कुखुराको मूल्य नपाएको बतायौं ।

हामी दुवैजना आ–आफ्नै दाबीमा थियौँ । संचालकले मध्यस्त बाटो रोजे । दुवैबाट आधा–आधा छाड्ने कुरा भयो । उनले ३४ किलो मात्रै बिलमा जोड्ने कुरा गरे ।
मलाई लाग्यो, मैले त सप्लायर्स मार्फत कुखुरा लिएर आएको हुँ । योसँग पनि कुरा गरेर फाइदा छैन जस्तो लागेर सिधैँ सप्लायर्सका सञ्चालकलाई फोन  गरें । अनि हुइकियौँ कुखुरे गाडीमा धादिङ ।

झण्डै १ हप्तापछि कोल्ड स्टोर्सले मेरो कुखुराको तौल ६८ किलो नै जोखिदिएछ । त्यसका लागि सप्लायर्सका दाजुलाई धेरै धन्यवाद दिएँ । किसानको श्रमलाई त्यतिकै खान पाइँदैन भन्दै राजेन्द्र दाइले कोल्ड स्टोर्सका संचालकलाई थर्काउनुभएछ । म जस्ता केही अक्षर जानेका व्यक्ति त यसरी ठगिने प्रपन्चमा रुमलिन्छौँ भने निरक्षर कयौं कुखुरापालक किसानहरुको हालत कस्तो होला ?

किसानलाई प्रतिकिलो २ सय, दलाललाई ३ सय

त्यतिबेला काठमाडौंमा कुखुराको भाउ प्रतिकिलो १ सय ५० रुपैयाँमा झरेको थियो । काठमाडौंमा ल्याएर १ सय ५० रुपैयाँमा कुुखुरा बेच्नुभन्दा गोरखाको सिमानमा पर्ने हिमाली भेग धादिङको बसेरी पुर्याएर प्रतिकिलो २ सय रुपैयाँमा कुखुरा बेच्नु मलाई धेरै नै फाइदा हुन्थ्यो । किनकी १ टिप कुखुरामा ५० रुपैयाँ फरक हुँदा पनि ५० हजार रुपैयाँ मलाई बढी आउँथ्यो ।

म सल्यान्टारमा थिएँ । नारन दाइलाई कुखुरा लोड गरेर आउन भनें । आफैंले कुखुरा बेचेर हिँड्ने फुर्सद मसँग थिएन । त्यसैले एक दलालमार्फत कुखुरा सप्लाई गर्ने सम्झौता भयो । उसले हामीलाई प्रतिकिलो २ सय रुपैयाँ दिने । उसले जतिमा बेचे पनि पाउने । म त्यो रेटमा मान्नुको कारण के हो भने नि काठमाडौंको १ सय ५० रुपैयाँभन्दा त्यहाँको २ सय रुपैयाँले मलाई ५० हजार रुपैयाँ धेरै आउँथ्यो । अघिल्लो दिन बेलुका ८ बजेतिर कुखुरा लोड गरियो ।

बसेरीको डाँडासम्म कुखुरा पुर्याउँदा भोलिपल्ट बिहानको ८ बजिसकेको थियो । मैले तौल टिप्दै गएँ । ती दलालले कुखुरा बेच्दै हिँडे । मलाई अचम्म लाग्यो । किनभने उसले मेरो कुखुरा बसेरीबासीलाई ३ सय रुपैयाँमा बेच्दै थिएँ । म बोल्न सकिरहेको थिइनँ ।

उसँग मैले किलोको २ रुपैयाँ मात्रै लिने सहमति जनाइसकेको थिएँ । उसले कसैसँग पनि अर्डर लिएको रहेनछ । त्यसमा पनि मलाई रीस उठिरहेको थियो । रीसलाई काबुमा राख्ने प्रयत्नमा थिएँ । अर्डर नभएपछि बेलुकासम्म लाग्ने त कुरा नै भयो । बेलुकासम्ममा पनि कुखुरा बेचेर भ्याइएन । ५ सय कुखुरामा अझै १ सय ५० कुखुरा बाँकी रह्यो ।

त्यो कुखुरा बोकेर अझमाथि लेकतिर लाग्ने उसले प्रस्ताव गर्दै थियो । मलाई एकदमै सह्य भएन । अनि मैले ती सबै कुखुरा फिर्ता लिएर आएँ । खोरमा कुखुरा ल्याईपुग्दा बेलुकीको ८ बजिसकेको थियो । अघिल्लो दिन लोड गरेको कुखुराले दानापानी खान नपाएको २४ घण्टा कटिसकेको थियो ।

जे पर्ला पर्ला, मरे फालौँला, बाँचे पालौँला भनेर मैले कुखुरालाई खोरमै ल्याएर राखें । अब विश्लेषण गरौं कि कुखुरा पालक किसानले कमाउने रहेछ कि बिचौलिया या ‘दलाल’ हरुले ?

बजार भाउ २ सय २० रुपैयाँ, किसानलाई १ सय ९० मात्रै

कुखुरा बेच्न हिँडेको दिन रातभरी गाडीकै यात्रा हो । दिउँसो कुखुरा लोड गरियो भने धेरै मर्ने हुन्छ । भोलिपल्ट बिहान कोल्ड स्टोर्समा कुखुरा पुर्याउन अघिल्लो दिन बेलुकी ६ बजेतिरबाटै लोड गर्न सुरु गर्नुपर्छ ।

एकपटक त्यस्तै भयो । कुुखुरा लिएर हामी ज्वालामुखी सुनखानीबाट हुइकियौँ । हाइवेमा आएर चिया खायौं । गर्मीको समय थियो । ड्राइभरले गाडी अलि तीव्र गतिमै चलाएछ क्यारे । बिहान ४ बजे काठमाडौं आइपुग्ने भनेका हामी ३ बजे नै हामी काठमाडौंको एक कोल्ड स्टोर्समा आइपुग्यौं ।

कोल्ड स्टोर्स सञ्चालकलाई फोन गर्यौं । ४ बजेभन्दा पहिले ढोका खुल्दैन भने । हामी १ घण्टासम्म त्यही गाडीमा बसिरह्यौं । सुत्ने कुरा पनि भएन त्यो १ घण्टामा । किनकी कुखुरा चोरी हुन्छ भन्ने हामीलाई थाहा थियो । त्यो पट्यारलाग्दो १ घण्टाको समयपछि बल्ल कोल्ड स्टोर्स सञ्चालकले सटर उघारे । कुखुरा जोखियो ।

पोल्ट्री सप्लायर्स मार्फत नै हामी कुखुरा लिएर कोल्डस्टोर्स पुगेका थियौं । त्यो कोल्ड स्टोर्स भारतीय नागरिकको रहेछ । मेरो अनुमान थियो कुखुराको अनुपातको तौल साढे २ किलो त आउँछ होला । किनकी कुखुरा ठूलै थियो । तर त्यसो हुन सकेन । औषतमा १ किलो ९ सय ग्रामको तौल निस्कियो । म बोल्न सकिँन । फेरि तौलिन कुखुरा बजार पुगिसकेको थियो ।

हिसाब सुरु भयो । सप्लायर्सको दाइले प्रतिकिलो २ सय २० रुपैयाँ भन्नुभएको थियो । कोल्ड स्टोर्सले भने १ सय ९० रुपैयाँ मात्रै हिसाब लगायो । अनि लाग्यो, म अब अरुको ‘कन्ट्रयाक’ मा कहिले पनि काठमाडौंमा कुखुरा ल्याउदिनँ । आखिर काम गर्ने कालु, आम्दानी खाने चाहिँ अरु नै ? यो त भएन नि !

हरेक तौलमा १ प्रतिशत कटौती

हरेक पटकको तौलमा कोल्ड स्टोर्सले १ प्रतिशत कटौती गर्ने गरेका छन् । त्यो भनेको, मैले २ हजार कुखुरामा ४ हजार किलोमध्ये ४० किलो कुखुरा कोल्ड स्टोर्स अथवा व्यापारीलाई सित्तैमा दिनुपर्छ ।

यसको अनुपातको मूल्य झण्डै ८ हजार पर्न आउँछ । कटौती गरिएको यो तौलको मूल्य किसानलाई दिइँदैन । एउटा मात्रै कोल्ड स्टोर्सले होइन, हरेकले यही गर्छन् । यसको अन्त्य हुनु जरुरी छ । ब्रोइलर कुखुरा पालक किसान अहिले यसरी नै चौतर्फी मर्कामा छन् । स्वयं मैले पनि एकपटक भोगिसकेको छु ।

कुखुरा पालन मात्रै होइन, कृषिको प्रत्येक क्षेत्रमा बिचौलियाहरुको बिगबिगी छ । सरकारले यस्ता बिचौलियाको बाटो बन्द नगरिदिने हो भने किसानको कहिल्यै उन्नति हुन्न । उन्नति त ती बिचौलियाको मात्रै हुन्छ ।
 

अन्तिम अपडेट: जेठ १९, २०७६

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया