प्रियंका र निककाे विवाहमा हेलिकप्टरले पाहुना अाेसार्ने, विवाह हिन्दु र क्रिश्चियन दुवै रिवाजमा हुने

 मंसिर ९, २०७५ आइतबार १८:६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेत्री प्रियंका चोपडा उनीभन्दा १० वर्ष कान्छा प्रेमी तथा अमेरिकन गायक निक जोनसका साथ यही डिसेम्बर २ र ३ मा विवाह गर्दैछिन् । 
यो जोडीको विवाह भारतको जोधपुरमा रहेको उम्मेद भवन प्यालेसमा हुनेछ । 

खबरहरुका अनुसार प्रियंका र उनका हुनेवाला दुलाहा निक हेलिकप्टरबाट विवाहस्थलमा जानेछन् । यतिमात्रै होइन यो जोडीको विवाहमा सहभागी हुने पाहुनाहरुलाइसमेत जोधपुरको एयरपोर्टबाट हेलिकप्टरमार्फत विवाहस्थलमा लैजाने व्यवस्था गरिएको छ । 

अहिले प्यालेसमा एउटा हेलिप्याडको तयारी गरिँदैछ ।  

प्रियंका र निकले २९ नोभेम्बर र ३ डिसेम्बरका लागि एउटा हेलिकप्टर बुक गरेका छन् । हेलिकप्टरले जोधपुर एयरपोर्टदेखि उम्मेद भवन प्यालेससम्मका पाहुनाहरुका लागि ५ देखि ६ राउण्ड लगाउनेछ ।

प्रियंका र निकको मेहन्दी र संगीतको कार्यक्रम २९ नोभेम्बरमा हुनेछ । संगीतको कोरियोग्राफ गणेश हेगडेले गरिरहेका छन् । संगीतमा प्रियंकाले उनी अभिनित हिन्दी फिल्मका गीतमा प्रस्तुति दिनेछिन् भने प्रियंकाको लागि दुलहा निकले आफ्नो ग्रुपकासाथ अंग्रेजी तथा हिन्दी गीत गाउनेछन् । 

यसैगरी ३० नोभेम्बरमा प्रियंका र निकले आफ्ना नजिकका साथी तथा परिवारजनका लागि ककटेल पार्टीको आयोजना गर्नेछन् । डिसेम्बर १ मा ‘हल्दी’ कार्यक्रम रहेको छ । प्रियंका र निकले २ वटा धर्मको रीतिरिवाज अनुसार विवाह गर्नेछन् । 

डिसेम्बर २ मा हिन्दु र डिसेम्बर ३ मा क्रिश्चियन रीतिरिवाजमा विवाह हुनेछ । प्रियंका उनको हिन्दु रीतिरिवाजमा हुने विवाहका दिन डिजाइनर अबुजानी र सन्दीप खोसलाले डिजाइन गरेको पहिरन लगाउन छिन् भने क्रिश्चियन विवाहमा राल्फ लरेनको ड्रेस लगाउनेछिन् ।  

विवाहपछि प्रियंका चोपडा र निक जोनसले २ वटा रिसेप्शन दिनेछन् । एउटा रिसेप्शन दिल्लीमा आयोजना हुनेछ । जहाँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राजनेताहरुलाई आमन्त्रण गरिनेछ ।

दोस्रो रिसेप्सन मुम्बईमा हुनेछ । जहाँ सलमान खान र उनको परिवार, आलिया भट्ट, रणवीर कपूर, कट्रिना केफ, फरहान अख्तरलगायत बलिउडका कलाकारहरु सहभागी हुनेछन् । तर रिसेप्सन पार्टीको मिति भने अहिले सार्वजनिक गरिएको छैन । 

हालै विवाह बन्धनमा बाँधिएका दीपिका र रणवीरको विवाहको तस्बिरका लागि मिडिया तथा फ्यानहरुले केही समयसम्म पर्खनु परेको थियो । 

यही कुरा प्रियंकाको विवाहमा पनि दोहोरिने छ । प्रियंका र निकका साथै विवाहमा सहभागी पाहुनाहरुसमेत हेलिकप्टरमार्फत विवाहस्थलमा जाने भएकाले प्रियंका र निकका विवाहको तस्बिर ढिलो सार्वजनिक हुनेछ ।  
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया