तीन नम्बर प्रदेशको प्रदेश सभा बैठक बस्दै, राजधानीकाे विषयले प्रवेश नपाउने

 मंसिर १०, २०७५ सोमबार १०:४३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – तीन नम्बर प्रदेश सभाको बैठक लामो समयपछि सोमबार बस्दैछ । यसभन्दा अगाडि अब बस्ने प्रदेश सभा बैठकमा प्रदेश राजधानीको विषयले प्रवेश पाउने भनिए पनि यो बैठकमा यस विषयमा छलफल नहुने भएको छ ।

अहिले मन्त्रीपरिषद्बाट पास भएका ६ वटा विधेयक पास गर्ने र पछिमात्रै राजधानीको विषयमा प्रवेश गर्ने प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो ।राजधानिको विषयमा कार्यव्यवस्था समितिमा मात्र छलफल हुने बताउँदै उहाँले भन्नुभयो ‘राजधानीको विषयमा पहिले नै छलफल गरेर मात्रै निर्णय लिनुपर्ने हुन्छ ।’ प्रदेश राजधानीको विषयमा सहमतिपछि मात्रै बैठक बोलाउने तयारी भए पनि अझैसम्म सहमति नभएकाले अड्किएको विधेयक पारित गराउन बैठक बोलाइएको सभामुख श्रेष्ठले बताउनुभयो । 

प्रदेशसभाले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश संंस्था दर्तासम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल सकेको छ । यस्तै प्रदेश कार्य सञ्चालन कोष–२०७५ विधेयकमाथि अर्थ तथा विकास समितिले छलफल गरेको छ ।

सरकार गठन भएको १० महिना भइसक्दा पनि कानुनको अभावले प्रदेश सरकारले स्थायी राजधानीको विषयलाई लिएर लामो समयसम्म प्रदेशसभा बैठक नबस्ने र सभामा पेश भएका विधेयक अड्किँदा प्रदेश सरकारले काम गर्न नसकेको आरोप प्रदेश सांसदहरुले लगाउँदै आएका छन् । प्रदेशको राजधानीबारे सहमति जुटाउन स्थगित भएको प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक डेढ महिनापछि आज बस्न लागेको हो । 

बैठकले प्रदेशसभामा पेश भएका र विषयगत समितिमा छलफल भएका विधेयकहरुलाई अघि बढाउने छ । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया