जाउलाखेल चिडियाघरमा आयो नयाँ जनावर

 मंसिर १०, २०७५ सोमबार १४:४४:५१ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – जाउलाखेल चिडिया घरमा नयाँ जनावरले प्रवेश पाएको छ ।

मडागास्कर टापुको रैथाने प्रजाति ‘रिङ टेल लिमोर’ लाई अब जाउलाखेल चिडिया घरमा देख्न मिल्नेछ । कुकुरको जस्तो थुतुनु, बिरालोको जस्तो आँखा, बाँदरका जस्ता पञ्जा, बिरालोको जस्तो तर फुरेकोे पुच्छर, शरिरभरि नरम भुवाँ भएको यो जनावर एकदमै आकर्षक देखिन्छ । झण्डै दुईदेखि चार किलोसम्म तौल हुने लिमोर बाँदर प्रजातिको भएको जाउलाखेल चिडियाखानाका क्यूरेटिभ यसिस्टेन्ट गणेश कोइरालाले बताउनुभयो ।

उष्ण मनसुनी हावापानीमा पाइने लिमोरको एक जोडी तस्करहरुको कारण नेपाल भित्रिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले नियन्त्रणमा लिएपछि जिल्ला वन विभागले त्यसलाई वि.सं. २०७४ साल भाद्र ४ गते चिडियाखानालाई बुझाएको थियो ।

‘एक वर्षसम्म नर्सरी क्यावमा नै राखेर यसलाई हुर्काइयो । नेपाली हावापानीमा कसरी हुर्काउने भनेर अध्ययन अनुसन्धान गर्दा र यसको लागि वासस्थानको व्यवस्था गर्न एक वर्ष लाग्यो’, कोइरालाले बताउनुभयो, ‘अहिले यसको लागि वासस्थानको व्यवस्था गरिसकेका छौं । एसीयुक्त कोठा निर्माण गरेर यसलाई राख्ने बन्दोवस्त भइसकेको छ । अब यसलाई आज भोलि नै सबैले देख्न मिल्ने गरी राखिनेछ ।’

घरमा पाल्न, मासु र नरम भुवाँको लागि अन्तर्राष्ट्रियस्तरमा यसको चोरी निकासी हुनेगर्दछ । प्रकृति संरक्षणको लागि अन्तर्राष्ट्रिय संगठन(आईयूसीएन) ले यसलाई खतराको सूचीमा राखेको छ । यो जनावर पहाडी र नदी छेउछाउको जङ्गल तथा सुख्खा झाडीहरुमा बस्न रुचाउँछ । यो मडागास्कर टापुको दक्षिणी र दक्षिणपश्चिम भागमा पाइने गरेको कोइरालाले बताउनुभयो ।

यसको वैज्ञानिक नाम लिमर क्यट्टा हो । लिमोरको आयु झण्डै १६ देखि १९ वर्षसम्म हुन्छ । यसको प्रमुख आहारामा मौसमअनुसारका फलफूल, कलिला पातहरु, किरा, फट्याङ्ग्रा पर्दछ । जाउलाखेल चिडियाघरमा ३३ प्रजातिका स्तनधारी प्राणीको कुल २ सय ७३ सङ्ख्या भएकोमा दुईओटा लिमोरको प्रवेशपछि ३४ वटा प्रजाति र २ सय ७५ सङ्ख्या पुगेको छ ।

यस्तै चिडियाघरमा ५८ प्रजातिका पन्छीहरुका ८ सय १५ संख्या, ९ किसिमका घस्रने प्रजातिका ३१ सङ्ख्या र २६ प्रजातिका माछाका ९८ सङ्ख्या रहेको कोइरालाले बताउनुभयो । चिडियाघरमा कुल १ सय २७ प्रजातिका प्राणीहरुको कुल सङ्ख्या १२ सय १९ सङ्ख्या रहेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया