आफ्नै विवाहको पार्टीमा लगाएको पहिरनका कारण ट्रोल भइन् दीपिका पादुकोण

 मंसिर १०, २०७५ सोमबार १६:३७:४५ | एजेन्सी

बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहले नोभेम्बर १४ र १५ मा इटालीको लेक कोमोमा केही नजिकका साथीभाइ र आफन्तजनहरुबीच विवाह गरेर भारत फर्किएका छन् ।

भारत फर्किएसँगै दीपिका र रणवीर विवाहको खुसियाली मनाइरहेका छन् । हालै रणवीर सिंहकी दिदी रितिका भवनानीले नवविवाहित जोडीको विवाहको खुसियालीमा मुम्बईमा भव्य पार्टीको आयोजना गरेकी थिइन् । त्यो पार्टीमा रणविर र दीपिकाले निकै रमाइलो पनि गरे । 

तर पार्टीका भिडियो तथा फोटोहरु सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै दीपिकाले पार्टीमा लगाएको पहिरनको यतिबेला ट्रोलर्सले निकै मजाक उडाइरहेका छन् । दीपिकाले चर्चित डिजाइनर सब्या साचीले डिजाइन गरेको लेहङ्गा लगाएकी थिइन् भने रणवीर सिंहले मनीष अरोडाले डिजाइन गरेको पहिरन लगाएका थिए ।  

रणवीर सिंह उनको फिल्म पद्यमावतको चरित्र खिलजीबाट प्रभावित मेकअपका साथ रंगीबिरंगी ज्याकेट लगाएका थिए र दीपिकाले रंगीबिरंगी फुलबुट्टे लेहङ्गा, टाउकोमाथि रातो रंगका गुलाबका फूलहरु सजाएर लामो घुम्टी आढेकी थिइन् । उनले अनुहारमा मेकअप पनि अलि बढी नै गरेकी थिइन् । 

दीपिकाको यस किसिमको पहिरन र मेकअप फ्यानहरुले रुचाएनन् । यसअघि पहिरनकै कारण बेला–बेलामा ट्रोल हुने गरेका रणवीर सिंहका साथै यस पटक दीपिकाको पनि मजाक उडाइएको छ । 

साथै रणवीर सिंहका साथमा विवाह गरेपश्चात दीपिकाको ड्रेसिङ सेन्स पनि हराएको भन्दै मजाक उडाइएको छ । दीपिकाको लागि यस किसिमको पहिरन डिजाइन गर्ने डिजाइनर सब्यासाचीको पनि मजाक उडाइएको छ । 

ट्रोलर्सले दिपिकाको मेकअप उनले कपालमा लगाएका गुलाबका फूलहरु र लुगाको मजाक उडाउँदै कमेन्ट गरेका छन् । 

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया