सफा शहरको प्रतिनिधित्व गर्दै हेटौंडाका मेयर बंगलादेश भ्रमणमा

 मंसिर १०, २०७५ सोमबार १५:११:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – बंगलादेशको ढाकामा हुने कार्यक्रमका लागि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

देशभरका सफा शहरको प्रतिनिधित्व गर्दै मेयर महत बंगलादेशको ढाकामा हुने कार्यक्रममा सहभागी हुन बंगलादेश जानु भएको हो । संयुक्त राष्ट्रसंघको आयोजनामा बंगलादेशमा भोलिदेखि हुने सफा शहरहरुको तीनदिने सम्मेलनमा सहभागी हुनका लागि मेयर महत बंगलादेशतर्फ लाग्नुभएको हो ।

सोमबार दिउँसो एक बजे बंगलादेश जानुभएका मेयर महत मंसिर १४ गते स्वदेश फर्कनुहुने छ । उपमहानगरपालिकाको एक रुपैयाँ पनि खर्च नहुने गरी विदेशको कार्यक्रममा सहभागी हुन जान लागेको मेयर महतले बताउनुभएको थियो ।

‘मेयर भएपछि विदेश भ्रमणका लागि आधा दर्जन देशबाट निम्ता आएका थिए । तर ती निम्तामा आउने–जानेको खर्च उपमहानगरपालिकाले बेहोर्ने र बस्न, खान, घुम्नको खर्च आयोजकले बेहोर्ने भनेपछि आधा दर्जन देशका भ्रमणहरु रद्ध गरेको थिएँ । यसमा नगरको कुनै पनि आर्थिक भार नपर्ने भएपछि सहभागिता जनाउन जान जान लागेको हूँ ।’

अरु धेरैखालका उपलब्धि बिहिन भ्रमण भन्दा यो भ्रमणबाट हाम्रो नगरमा थप सफा र सुन्दर बनाउनका लागि सहयोग पुग्ने भएकाले पनि बंगलादेश जान लागेको उहाँले बताउनुभएको थियो । सम्मेलनमा हेटौंडा उपमहानगरपालिकाका मेयरसहित धनकुटा नगरपालिकाका मेयर र सफा शहरको पुरस्कार पाउने ३ अन्य नगरका मेयर समेत जानुभएको छ । आर्थिक वर्ष २०७४/०७५ मा नेपालका सफा ३ शहरमा हेटौंडा उपमहानगरपालिका तेस्रो नम्बरमा पर्दै पुरस्कृत भएको थियो ।

त्यस्तै नेपालका सफा शहरको पहिलो पु्रस्कार धनकुटा नगरपालिकाले पाएको थियो भने दोस्रो वालिङ नगरपालिका भएको थियो । सम्मेलनमा सरसफाईमा उपमहानगरपालिका ठूलो भए पनि कसरी उत्कृष्ट हुन सक्यो भनेर भिडियो र तस्बिरसहित उहाँले प्रस्तुतिकरण गर्नुहुने भएको छ ।

सम्मेलनमा हेटौंडाको अबको सरसफाई सम्बन्धी अवधारणा तथा नगरभित्र सञ्चालित कार्यक्रमका बारेमा मेयर महतले कार्यपत्र प्रस्तुत गर्नुहुने उहाँले बताउनुभयो ।  
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया