एनआरटीलाई हराउँदै थ्रीस्टार ए डिभिजन लिगको दोस्रो स्थानमा

 मंसिर १०, २०७५ सोमबार १६:४९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबले राम्रो कमब्याक गरेको छ । 

तेस्रो चरणको खेलमा मनाङसँग पराजित भएको थ्रीस्टारले आज न्यूरोड टिम एनआरटीलाई दुई–शून्यले हरायो । जितसँगै थ्रीस्टार लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा थ्रीस्टारले एनआरटीविरुद्ध सहज जित निकाल्यो । जारी लिगमा तेस्रो जित निकाल्ने क्रममा थ्रीस्टारका रञ्जित धिमालको एकमात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ७५ औं मिनेटमा एनआरटीको गोलकीपरले फल गर्दा थ्रीस्टारले पेनाल्टी पायो ।

तर पेनाल्टीमा रञ्जित धिमालले गोल गर्न सफल भए । पहिलो प्रहार रिबाउन्ड भएपछि रञ्जितले गोल गरे । त्यसपछि एनआरटी खेलमा फर्कन सकेन यता थ्रीस्टारले इन्जुरी समयको पहिलो मिनेटमा दोस्रो गोल थप्यो । उसका लागि मार्टिन्सले गोल गरे ।

यता हलचोकमा भएको खेलमा च्यासल युथ क्लब नेपाल पुलिससँग दुई–शून्यले पराजित भयो । आर्मीसँग पराजित भएको पुलिसले च्यासलविरुद्ध भने राम्रो फुटबल खेल्यो ।

पुलिसले खेलको ४० औं मिनेटमा रवि पासवानको गोलमार्फत अग्रता बनायो । यो लिगमा बलिया खेलाडी अनुबन्ध गरेको च्यासलविरुद्ध पुलिसले ८९ औँ मिनेटमा दोस्रो गोल गर्यो । 

उसका लागि भरत साहले गोल गर्न सफल भए । जितपछि थ्रीस्टारको चार खेलबाट नौ अंक भएको छ भने पुलिसको सात अंक भएको छ ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया