एक करोड बजेटमा चलचित्र ‘आरुसी’ निर्माण हुने, उदयको निर्देशनमा इशकको डेब्यू

 मंसिर १०, २०७५ सोमबार १७:२१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – झण्डै एक करोड लागतमा चलचित्र ‘आरुसी’ निर्माण हुने भएको छ । गणपति फिल्मस्का लागि उदय सुब्बाको निर्देशनमा निर्माण हुन लागेको यस चलचित्र यही मंसिर १५ गतेबाट छायांकन हुँदैछ ।

त्रिकोणात्मक प्रेम कथामा आधारित भनिएको यस चलचित्रमा इशक राईले हिरोको रुपमा डेब्यू गर्दैछन् । साहारा प्रधान, बिरु गुरुङ र केशवकुमार श्रेष्ठको संयुक्त लगानीमा यो चलचित्र निर्माण हुन लागेको हो । पेशाले यी तीनै जना व्यापार व्यवसायमा संलग्न छन् । फिल्मको सम्पूर्ण छायांकन ४० दिनमा सक्ने गरी टिम मोफसल निस्कन लागेको निर्देशक उदय सुब्बाले जानकारी दिए । यो फिल्मको झापा, इलाम, तिर्थुङ, ताप्लेजुङ र सङ्खुवासभालगायतका स्थानमा छायांकन गरिनेछ ।

फिल्मको शीर्ष रोलमा नयाँ अनुहारलाई राखिने भएको छ । निर्देशक सुब्बाले कलाकारको विषयमा अगाडि थप्दै भने, ‘अहिले फिल्म मार्केटमा पुराना कलाकारको विकल्पको रुपमा नयाँ कलाकार देखिएका छन् । नयाँ कलाकार राखेपछि केही नयाँपन उनीहरुले दिन सक्छन् । यो समयको माग हो । जसरी अनमोल केसी, प्रदीप खड्का र पलशाह जस्ता नयाँ कलाकारले अहिले मार्केट लिएका छन् त्यसरी नै आरुसीमा पनि अब्बल क्षमता भएका नयाँ कलाकारले स्थान पाउनेछन् ।’ उदयले ३ वर्ष पहिले ‘रेफ्युजी’दर्शकमाझ दिएका थिए । 

चलचित्रमा इशक राई, रमा लिम्बू, सुनिल थापा, सुरविर पण्डित, कला राई, दमन रुपाखेती, बिरु गुरुङ, भूपेन्द्र लिङ्देनलगायतका कलाकारको अभिनय रहनेछ । 

मौनता श्रेष्ठको पटकथा तथा संवाद रहने यस फिल्मलाई विक्रम डिसीले खिच्नेछन् । बिरु गुरुङको कथा, तारा थापा किम्भेको सम्पादन, राजु किरातीको द्वन्द्व तथा विकास चौधरी र तारा प्रकाश लिम्बूको संगीत चलचित्रमा रहनेछ । कमल राई र दिनेश पाख्रिनको नृत्य निर्देशन रहने यस फिल्मको गीतमा राजेश पायल राई, दिपक लिम्बू, सुशन लिम्बू र सुम्निमा इङ्नामको स्वर सुन्न सकिन्छ । फिल्मको तीन वटा गीत रेकर्ड गरिसकिएको छ । 

आगामी नयाँ वर्ष अर्थात २०७६ सालको वैशाख १ मा ‘आरुसी’ प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ । 

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया