आफ्ना माग पूरा नभए पुस २ गते पुनः अनसन बस्ने डाक्टर केसीको चेतावनी

 मंसिर १०, २०७५ सोमबार १७:२८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – वरिष्ठ चिकित्सक गोविन्द केसीले आफूसँग गरेको सम्झौता पुस २ गतेसम्म पूरा गर्न सरकारलाई अल्टिमेटम दिनु भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले गएको साउन १० गते सरकारसँग भएको सम्झौता पुस २ गतेसम्म पूरा नभए पुनः आमरण अनसनमा बस्ने चेतावनी समेत दिनुभयो ।

सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काममा ढिलाई नगर्न पनि सरकारलाई वरिष्ठ चिकित्सक केसीले सचेत गराउनुभयो । १५ औं आमरण अनसनका क्रममा गरिएको सहमति अझै पालना नभएकोमा आपत्ति जनाउँदै उहाँले सम्झौता बमोजिम संघीय संसदबाट अबिलम्ब राष्ट्रिय चिकित्सा ऐन पारित गर्न पनि माग गर्नुभयो ।

वरिष्ठ चिकित्सक केसीले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन तथा सो हत्याको प्रमाण नष्ट गर्नेहरुमाथि कडा कारबाही गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

उहाँले सरकारको निर्णय विपरित काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्न पनि सरकारसँग माग गर्नु भएको छ । वरिष्ठ चिकित्सक केसीले राष्ट्रपतिलाई बिलासिताको सवारी साधन उपलब्ध गराउने काममा सरकार लागि परेको भन्दै आपत्ति समेत जनाउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया