विकास ‘डोनर’ले होइन, जनताले गर्छन् : मुख्यमन्त्री शाही

 मंसिर १०, २०७५ सोमबार १८:०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

कालिकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकास कार्य ‘डोनर’ले नभई जनताले गर्ने बताउनुभएको छ ।

जिल्ला समन्वय समिति कालीकोटद्वारा आयोजित दोश्रो जिल्ला सभाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विकास र समृद्धिको अभियानमा जनतालाई गोलबन्द गर्नुपर्ने बताउनुभयो । 

स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘तपाईँ हामीलाई जनताले सरकारमा पठाएका हुन्, हामी जनतातिरै फर्कनुपर्छ ।’ विकास अभियानमा दातृ निकायको सहयोगी भूमिका मात्र हुने बताउँदै जनतालाई साथमा नलिई विकास र समृद्धिको अभियान पूरा नहुने उहाँको भनाई छ ।

मुख्यमन्त्री शाहीले नकारात्मक सोच र राजारजौटाको शैलीले जनताको विश्वास आर्जन गर्न नसकिने बताउँदै जनप्रतिनिधिहरु जनताको सेवकका रुपमा रहनुपर्ने धारणा राख्नुभयो । 

कालिकोटको मात्र नभई सिंगो कर्णालीको विकासका लागि आफूले आर्थिक श्रोतको अभाव हुन नदिने बताउँदै मुख्यमन्त्री शाहीले श्रोतको सदुपयोग र दिगो विकासमा ध्यान दिन आग्रह गर्नुभयो । ‘जनतालाई उत्पादनमूलक काममा नजोडी समृद्धि प्राप्त हुँदैन’, मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘कृषि, उद्योग, पर्यटन, जडिवुटी लगायतका क्षेत्रमा उत्पादनमूलक योजना निर्माण गरेर काममा लाग्नुस् ।’ 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया