एकता ए ! कता गयो ?

 बैशाख २५, २०७५ मंगलबार १८:५३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

-डा. बमबहादुर जिताली

छाडा तस्कर छन् आज डाँका डिँड्दछ ठाँटमा
साँढे छाडा भएका छन् गाई देखिन्न फाँटमा ।
प्रजाको तन्त्र मौलायो लुट्ने–पिट्ने धनी भयो
नयाँ नेपाल छोडेर एकता ए ! कता गयो ?

टाढा युवा पठाएर हतारमा कतारमा
सारा उद्योग मासेर लाने भए विहारमा ।
युवा–शक्ति उकासेर नेता हाकिम बन्दछन्
एकता भाँडिए जस्तो, टाढिएको छ भन्दछन् ।

खेत बाँझो बनाएर विदेशी मतिमा मिले
खेती गर्ने गए अन्तै समाती च्याप्प किल्किले ।
जसको हातमा लाठो उसैको भरिया भयो
चोखो नेपाल छोडेर एकता ए ! कता गयो ?

भाइ–बैनी जुटाएर दाजुले राख्छु भन्दछन्
दाजु–भाइ फुटाएर अरुले पाल्छु भन्दछन् ।
आफ्नो घर मिलाएर नराख्ता के भयो–भयो
आफ्नो हिमाल छोडेर एकता ए ! कता गयो ?

समाज–हितमा बोल्ने दलाली पक्षमा गए
उसैको हितमा बोल्छन् पुँजीवादी हुँदै गए ।
जनता ममचा जस्ता, खाने नेता ठूलो भयो
दुई दल भिडाएर एकता ए ! कता गयो ?


    (मोति–जयन्तीः २०६६)

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया