मुख्यमन्त्री पौडेलद्वारा कतार सम्मेलनमा सम्बोधन

 मंसिर ११, २०७५ मंगलबार ८:२४:२९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – ‘वन बेल्ट  वन रोड’ कतार शिखर सम्मेलनका लागि आइतबार कतार जानुभएका प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले सम्मेलनमा सम्बोधन गर्नुभएको छ । 

सोमबार सम्मेलनमा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले यो सम्मेलनबाट अन्तर्राष्ट्रिय सहयोग आदान प्रदान प्रवर्द्धन हुने विचार व्यक्त गर्नुभयो । विश्वको अर्थ व्यवस्था धेरै नै फराकिलो भएको भन्दै मुख्यमन्त्री पौडेलले  अर्थव्यवस्थाको क्षमता वृद्धिदर माथि उठाउन जरुरी रहेको बताउनुभयो ।

वर्तमान समयमा क्षमता तथा आर्थिक वृद्धिदर सबै देशमा एकरुपमा नभए पनि एकै स्तरबाट वृद्धिदर माथि उकास्न सबै देशले हातेमालो गर्नुपर्ने पनि मुख्यमन्त्री पौडेलले बताउनुभयो । ‘गरिबी उन्मूलन विश्वको सबैभन्दा महान् चुनौती रहको छ’ उहाँले भन्नुभयो ‘अझै पनि लाखौं मानिसहरू शिक्षा, स्वास्थ्य, खानेपानी, लैङ्गिक समानता र जलवायु परिवर्तन निवारण सेवाको पहुँचभन्दा बाहिर छन् ।’ 

नेपालमा संविधान सभापछि देश संघीय संरचनामा गएर अर्को उपलब्धि हासिल गरेको पनि उहाँले जानकारी गराउनुभयाे । राजनीतिक अस्थिरता भोग्दै आएको नेपालले अहिले राजनितिक स्थिरता पाएर थप मजबुत हुने स्थितिमा पुगेको पनि उहाँले दाबी गर्नुभयाे । नेपालमा ४ वर्ष अगाडि गएको भूकम्प र त्यसपछिको नाकाबन्दिपछि फेरि आर्थिक विकासले गति लिन थालेको उहाँले जानकारी गराउनुभयो ।

चीनको ‘वन बेल्ट वन रोड’ को विकास लक्ष्य योजनाको प्रशंसा गर्दै उहाँले चीनसंग सिधा सम्पर्क भए नेपालले थप आर्थिक विकासको ढोका खोल्ने बताउनुभयो । विश्वभरबाट ४ सय भन्दा धेरै सरकारी अधिकारीहरू, वक्ताहरुरू, विशेषज्ञहरूले कार्यक्रममा सहभागी छन् । मुख्यमन्त्री पौडेलेको टोली १३ गते स्वदेश फर्कने कार्यक्रम रहेको रहेको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया