दुर्घटनामा घाइते भएका बालक नवीनको उपचारका लागि सहयोग अपील

 मंसिर ११, २०७५ मंगलबार १३:०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – डडेल्धुरा दिपायल जोड्ने डाक्टर केआईसिंह राजमार्गको रडुवा भन्ने ठाउमा बस दुर्घटनामा परी घाइते भएका डोटीको दिपायल सिलगढी नगरपालिका ४ पिपल्लाका नवीन विकको उपचारका लागि सहयोग अपील गरिएको छ । उनको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनकी आमा शशी विकको दुर्घटनामा निधन भएको छ । 

डडेल्धुराको उग्रतारा मन्दिरमा मेला भरेर फर्किँदै गरेको बस दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए भने २८ घाइते छन् । अस्पतालका अनुसार उनको टाउकोमा गम्भीर चोट लागेको छ । छातिको करङसमेत भाँचिएको छ । उनी अहिले अर्धचेत अवस्थामा अस्पतालको बेड नम्बर ५१८ मा छट्पटाइरहेका छन् ।

घाइते बालकका बुबा गएको ५ वर्षदेखि घर परिवारबाट सम्पर्कविहीन छन् । अभिभावकको रुपमा रहेकी आमाको मृत्यु भएपछि नवीन बेसाहारा भएका हुन् । उनी दुर्घटना हुनुअघि आमासँगै दिपायलमा सेती नदीमा गिटी कुटेर जिविकोपार्जन गरिरहेका थिए । घाइते बालकको उपचारका लागि डोटेली समाज काठमाडौंले सहयोगको अपिल गरेको हो ।

सहयोग दाताले डोटेली समाज काठमाडौंको नाममा रहेको नयाँ बानेश्वर कृषि विकास बैंकको खाता नम्बर ०४०४१२ मा रकम जम्मा गर्न सकिने  डोटेली समाज काठमाडौंका अध्यक्ष जगदीश केसीले जानकारी दिनुभयो । नवीनको घरमा उहाँकी वृद्ध हजुरआमा मात्र हुनुहुन्छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया