सप्तरी मालपोत कार्यालयमा कर्मचारी अभाव, सेवाग्राहीले पाएनन् सेवा

 मंसिर ११, २०७५ मंगलबार १४:२६:२० | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – कर्मचारी अभावका कारण मालपोत कार्यालय सप्तरीको कामकाज प्रभावित हुँदा सेवाग्राही मारमा परेका छन् ।

कार्यालय प्रमुख विजया दशमीअघि नै सरुवा भएर गएको तथा अन्य पदहरुमा समेत कर्मचारी अभाव रहेकोले कार्यालयको नियमित कामकाज प्रभावित भएको हो । जिल्ला मालपोत कार्यालयमा उपसचिव, मालपोत अधिकृत, शाखा अधिकृतसहित ४० जनाको दरबन्दी रहेकोमा अहिले २१ जना मात्र कर्मचारीमध्ये १० जना कार्यालय सहयोगी नै रहेका छन् ।

उपसचिवको दरबन्दी दुई वर्ष अघिदेखि नै खाली रहेको छ भने मालपोत अधिकृत र शाखा अधिकृतको दरबन्दी दसैँपछि खाली नै रहेकोले कामकाज प्रभावित भएको छ । कामको चाप तथा दरबन्दी अनुसार कर्मचारी नहुँदा कामकाज प्रभावित हुँदै आएको विषयमा जानकारी गराएपछि गएको असोज १६ गते नै विभागले ४ जना मालपोत अधिकृत पठाए पनि अहिलेसम्म हाजिर नभएको जिल्ला मालपोत कार्यालय सप्तरीका नायब सुब्बा कृष्णवल्लभ ठाकुरले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभागले भूमिसुधार कार्यालय सुनसरीका रामप्रसाद तिमिल्सिना, मालपोत कार्यालय बेलबारीका हरिलाल खत्री, मालपोत कार्यालय भद्रपुरका दिपेन्द्र खत्री र मालपोत कार्यालय रौतहटका सिकेन्द्र साहलाई सप्तरी पठाएको थियो । उनीहरुमध्ये तिमिल्सिना इटहरी उपमहानगरपालिका र खत्री १ नम्बर प्रदेश कार्यालयमा हाजिर भइसकेका छन् । दिपेन्द्रले सरुवा बदर गराएर उतै बसेका छन् भने सिकिन्द्रको भने आउने सम्भावना रहेको ठाकुरले बताउनुभयो ।

विभागले भूमिसुधार कार्यालय सुनसरीका रामप्रसाद तिमिल्सिना, मालपोत कार्यालय वेलवारीका हरिलाल खत्री, मालपोत कार्यालय भद्रपुरका दिपेन्द्र खत्री र मालपोत कार्यालय रौतहटका सिकेन्द्र साहलाई पठाएको थियो । तर उनीहरु अन्यत्रै गएको नायव सुब्बा ठाकुरले बताउनुभयो । कार्यालयमा मोठ ५, तामेली, भूमिसुधार र रजिष्ट्रेशनसहितका फाँटहरु कर्मचारी अभावले गर्दा पालैपालो बन्द गर्न थालिएको छ ।

कार्यालयमा ९ जना खरिदारको दरबन्दी रहेकोमा दुई जनालाई अख्तियारले छड्के तथा किर्ते आरोपमा निलम्बन गरेको छ । अहिले कार्यालयमा नासु, खरिदार, कार्यालय सहयोगी र हल्का सवारी चालक गरी २१ जना कर्मचारी रहेकाछन् ।
 

अन्तिम अपडेट: फागुन २८, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया