नागरिकलाई राज्यले पाल्छ भन्ने विश्वास हामीले देखाएका छौँ : प्रधानमन्त्री ओली

 मंसिर ११, २०७५ मंगलबार १४:३९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सबैभन्दा तीव्र आर्थिक उन्नति र विकासमा अघि बढ्ने बताउनुभएको छ ।

‘अहिलेको सरकारले विकासरका आधारहरु बुझेको छ । मान्छेहरुले प्रश्न गर्छन्, नौ महिना बितिसक्यो एयरपोर्ट किन बनेन ?’, प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयो, ‘नौ महिनामा विश्वमा कुन चाहिँ एयरपोर्ट बनेको छ ?’

उहाँले मेलम्चीको पानी पनि केही दिनमै काठमाडौंमा आइपुग्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले नौ महिनामा धेरै कामहरु भएको जिकिर गर्नुभयो । ‘नौ महिनामा धेरै कामहरु भएका छन् । नागरिकहरु निराश हुनुपर्ने कारण छैन । स्थायित्व ल्याउने नीति तथा कार्यक्रम सरकारले ल्याएको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले सरकारले नागरिकलाई निराश नबनाउने स्पष्ट पार्नुभयो, ‘मेरो राज्य छ, सरकार छ, राज्यले मलाई पाल्छ भन्ने विश्वास हामीले देखाएका छौँ ।’ विद्यालयभन्दा बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा यही सरकारले ल्याउने प्रधानमन्त्री ओलीको भनाई थियो, ‘अर्को वर्षदेखि विद्यालयबाहिर रहेका कुनै पनि बालबालिका विद्यालय बाहिर रहने छैनन् ।’

‘पहिले फर्सीको बीउ रोप्ने वातावरण पनि थिएन, अब उमेरमा बीउ रोपेर फलेको फल टिपेर खान पाइन्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सामाजिक सुरक्षा ऐक्यवद्धतामा आधारित सुरक्षा हो । यो राज्यकोषबाट झिकेर बाँड्ने होइन, साँच्दै बाँड्ने योजना हो ।’

उहाँले सामाजिक सुरक्षा योजना अधिकार र दायित्व दुवै भएको बताउनुभयो । सामाजिक सुरक्षा योजनाले सबै क्षेत्रका श्रमिकलाई समेट्ने उहाँको भनाई थियो । सामाजिक सुरक्षा योजनाबाट श्रम शक्ति किन्ने र बेच्ने दुवैलाई फाइदा हुने उहाँको भनाई थियो ।

‘हामीले भनेको राज्य नागरिकको राज्य हो । हामीले भनेको लोकतन्त्र नागरिकका लागि काम गर्ने लोकतन्त्र हो’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सामाजिक पाटोका सबै क्षेत्रमा फैलिएको लोकतन्त्र बनाउन हामी लागिरहेका छौँ ।’

प्रधानमन्त्री ओलीले सीमित व्यक्तिहरुले धर्मको नाममा राजनीति गरेर र लोकतन्त्रलाई सरापेर पुरानै व्यवस्था फर्काउन लागिपरेको आरोप पनि लगाउनुभयो ।
‘लोकतन्त्र मास्ने संकेतहरु पाइएका छन्’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘लोकतन्त्र कसैले ल्याएको होइन, नेपाली नागरिकले त्यसलाई जोगाउँछन् ।’

नेपाल अब प्रत्येक क्षेत्रमा एक कदम अगाडि बढ्ने प्रधानमन्त्री ओलीको भनाई थियो । उहाँले भोकमरीबाट नेपालमा कोही पनि नमर्ने जिकिर गर्नुभयो, ‘नेपालमा कोही भोकै मर्दैन । यहाँ नागरिकको सरकार छ । सरकारको सम्पूर्ण प्रयास नागरिकको लागि हुनेछ । पछाडि परेका समुदायलाई विशेष योजनाबाट अगाडि ल्याइन्छ ।’

उहाँले सामाजिक सुरक्षा कोष नेपालको सबैभन्दा ठूलो कोष भएको बताउनुभयो । ‘यो कोष नेपालको सबैभन्दा ठूलो कोष हो । यसको समुचित प्रयोग हुनुपर्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘बाटो बनाउने काम अहिलेको सरकारले गरेको छ । बाटोमा गाडी कुद्दै गर्छ  । बाटोभन्दा बाहिर जाँदैन ।’

उहाँले आफ्नो सरकारले योजनाको थालनी गरेकाले र अरु सरकारकोे समयमा पनि यसको निरन्तरता हुने आश्वासन दिनुभयो ।

 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया