एउटा चलचित्र अपुरो छाड्दै अर्को चलचित्र निर्माणमा कस्सिए निखिल

 मंसिर ११, २०७५ मंगलबार १५:२२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

कुनै समय नेपाली चलचित्रमा एक्सन हिरोका रुपमा निकै चर्चा कमाएका नायकहुन् निखिल उप्रेती । केही समयको अन्तरालपछि उनी चलचित्र उद्योगमा फर्किए ।

तर अन्य ब्यानरका चलचित्रबाट निखिल टाढै छन् । उनी चलचित्रको निर्देशनमा लागिपरेका छन् । आफैंले चलचित्र निर्देशन गरे पनि नायकका रुपमा पनि उनीआफैंले काम गर्ने गरेका छन् । 

पहिले एक्सन नायकका रुपमा सफलता हासिल गरेका नायक उप्रेतीले निर्देशनमा अहिलेसम्म सफलताको स्वाद चाख्न पाएका छैनन् । यसअघि चलचित्र पिंजडा ब्याक अगेनामा देखिएका नायक त्यसपछि भने पर्दामा फर्किएका छैनन् । 

चलचित्र बक्स अफिसमा लगातार असफल हुन थालेपछि उनी केही संयमित भने देखिन थालेका छन् । उनले केही समय अगाडि नै चलचित्र कमिटमेन्ट निर्माणको घोषणा गरे र काम पनि सुरु गरे ।

 तर पछि चलचित्रका निम्ति लगानी अपुग भएको कारण देखाउँदै चलचित्रको छायाँकन स्थगित गरे । स्थगित भइसकेपछि अहिलेसम्म पनि उक्त चलचित्रको छायाँकन सुरु भएको छैन । 

त्यसलाई अपुरोमै छाड्दै उप्रेती अहिले अर्को चलचित्रको तयारीमा लागेका छन् । उनले बनाउने चलचित्रलाई उनले केही वर्षअघि आफैंले निर्देशन गरेको चलचित्र भैरबको सिक्वेलका रुपमा निर्माण गर्ने बुझिएको छ । 

चलचित्रका निम्ति कथा पनि उनी आफंैले तयार गर्न लागेको बुझिएको छ । 

नायिका संचिता लुइटेलसँग विवाह गरेपछि उनी चलचित्र क्षेत्रबाट हराएका थिए । केहि वर्षको अन्तरालपछि चलचित्र क्षेत्रमा पुनरागमन गर्दै उनले चलचित्र भैरबबाट नै निर्देशनमासमेत डेब्यु गरेका थिए ।

तर चलचित्रले सोचे अनुरुपको दर्शकको साथ पाउन सकेन । उनी अभिनित चलचित्र भिलेन पुष २७गतेबाट नेपालभर प्रदर्शनको तयरीमा रहेको छ । 
उनले निर्माण गर्न लागेको नयाँ चलचित्रलाई दर्शकले कति रुचाउने हुन् त्यो भने हेर्न बाँकी छ ।

 

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया