आठौँ राष्ट्रिय खेलकुदका लागि डेढ सय खेलाडी छनोट हुँदै

 मंसिर ११, २०७५ मंगलबार १५:४०:१६ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – आठाैँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि तेह्रथुमबाट झण्डै एक सय ५० जना खेलाडी छनोट हुने भएका छन् ।

प्रतियोगितामा जिल्लाबाट विभिन्न १५ वटा खेलका लागि डेढ सय बढी खेलाडीहरु छनोटको तयारी रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केशवकुमार भट्टराईले बताउनुभयो । जिल्लाबाट क्षेत्रीय तथा प्रदेश स्तरीय छनोट प्रतियोगितामा सहभागी गराउन मंसिर १४ गतेबाट २० गतेसम्म छनोट प्रतियोगिता हुन थालेको हो । यसपटक तेह्रथुमले पनि फुटबल, भलिबलसहितका १५ वटा खेलमा सहभागिता जनाउने भएको छ ।

फुटबल र एथ्लेटिक्सको खेलाडी छनोट प्रतियोगिता जिरिखिम्तीमा, तेक्वान्दोको छातेढंगामा र बाँकी सबै खेलको म्याङलुङबजारमा खेलाडी छनोट प्रतियोगिता आयोजना गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो । तेह्रथुमले यसपटक फुटबल, भलिबल, ब्याडमिन्टन, एथ्लेटिक्स, ब्याडमिन्टन, बक्सिङ, टेबलटेनिस, तेक्वान्दो, कराँते, कबड्डी, उस्सु, बुद्धिचाललगायतका खेलहरुमा सहभागिता जनाउने छ । प्रदेशको छनोट प्रतियोगितामा सहभागिताका लागि झण्डै २ सय जनाको टोली जाने समितिले जनाएको छ ।

छनोट प्रतियोगिताका लागि तेह्रथुमबाट एथ्लेटिक्समा महिला ९ जना, पुरुष १७ जना, कबड्डीमा महिला ११ जना, पुरुष १६ जना, भलिबलमा पुरुष १८ जना, महिला ९ जना, तेक्वान्दोमा पुरुष १० जना, महिला ५ जना, व्याडमिन्टनमा महिला ३ जना, पुरुष ६ जना, फुटबलतर्फ पुरुष ६६ जना र महिला ११ जनाले आवेदन गरेका छन् ।

यस्तै कराँते महिला २० जना, पुरुष २१ जना, बक्सिङतर्फ महिला÷पुरुष २–२ जना, बुद्धिचाल र उसुतर्फ महिला/पुरुष २–२ जनाले आवेदन गरेका जिल्ला खेलकुद विकास समितिले जनाएको छ । समितिका अध्यक्ष भट्टराईले छनोट प्रतियोगिता सम्पन्न गर्नका लागि सहयोग गर्न सबैसँग आग्रह समेत गर्नुभएको छ । 


 

अन्तिम अपडेट: चैत ३, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया