च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै, नकआउट पुग्ने दाउमा रियल र युनाइटेड

 मंसिर ११, २०७५ मंगलबार १७:३६:२९ | एजेन्सी
unn.prixa.net

युरोपियन फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज समूह चरणका आठ खेल हुँदैछन् । जसमा साविक विजेता रियल मड्रिडले रोमाको भ्रमण गर्दैछ ।

समूह जी मा रहेको रियल र रोमा दुवैको चार खेल बाट समान नौ–नौ अंक छ । तर गोल अन्तरका आधारमा रियल पहिलो र रोमा दोस्रो स्थानमा छन । यदि आजको खेलमा रोमालाई पराजित गरे रियल समूह विजेताका रुपमा अन्तिम १६ मा स्थान बनाउने छ । रोमालाई पनि रियलविरुद्धको जितले नक आउट चरणमा पुर्याउनेछ ।

यस्तै समूह एचमा रहेको युभेन्टसले घरेलु मैदानमा भ्यालेन्सियासँग खेल्नेछ । चार खेलबाट नौ अंकका साथ शीर्ष स्थानमा रहेको युभेन्टस जित हात पार्दै नक .आउट चरण पुग्ने लक्ष्यमा रहेको छ । यदि आजै हुने खेलमा म्यानचेस्टर युनाइटेड योङ ब्वाइजसँग पराजित भए युभेन्टस बराबरीको नतिजाले पनि अन्तिम १६ मा पुग्नेछ । भ्यालेन्सिया पराजित भए र आफ्नो खेलमा जित हात पारे युनाइटेड पनि अघिल्लो चरण प्रवेश गर्नेछ । अाजकाे खेलमा पराजित भए पनि युभेन्टस अघिल्लाे चरणमा पुग्नेछ ।

समूह एफमा रहेको म्यानचेस्टर सिटीले लियोनको सामना गर्नेछ । सिटीले लियोनसँग बराबरीमा रोकिए पनि अन्तिम १६ मा स्थान बनाउनेछ । लियोनलाई भने जित हात पार्नुपर्ने दबाब रहनेछ । यदि सीएसकेए मस्को भिक्टोरिया प्लजेनसँग पराजित भयो भने रियल र रोमा दुवैका लागि प्रि–क्वाटरफाइनलको यात्रा सहज हुनेछ । 

गएको सेम्टेम्बरमा घरेलु मैदानमा भएको खेलमा भने रियलले रोमालाई तीन–शून्यले पराजित गरेको थियो । ला लिगामा एइबारसँग तीन–शून्यको हार व्यहोरेपछिको पहिलो खेलमा रियल निकै दबाबमा रहेको छ ।

तर शाख्तर डोनस्क र होफेनहाइमको खेल बराबरीमा सकिए लियोनले सिटीसँग अंक बाँडे पनि समूह चरण पार गर्नेछ । समूह ईको बायर्न म्युनिखले बेन्फिकासँग प्रतिस्पर्धा गर्नेछ । यसै समूहको अयाक्सले ए ई के एथेन्ससँग खेल्नेछ ।

बायर्न र अयाक्सले आ–आफ्नो खेलमा जित हात पारे अन्तिम १६ मा स्थान सुरक्षित गर्नेछन् । एथेन्स र अयाक्स तथा मस्को र प्लेजको खेल ११ः४० र बाँकी सवै पौने दुई बजे सुरु हुनेछन् ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया