नासाकाे यान मंगल ग्रहमा अाेर्लियाे, थाहा पाउनुहाेस् मंगल ग्रहसम्बन्धी यी चाखलाग्दा तथ्यहरु

 मंसिर ११, २०७५ मंगलबार १७:५७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

मंगल ग्रहबारे विस्तृत अध्ययनको लागि नासाले पठाएको इन्साइट ल्याण्डर सोमबार सफलतापूर्वक मंगल ग्रहको सतहमा पुगेको छ ।

मंगल ग्रहबारे विस्तृत अध्ययन गर्न नासाले करिब सात महिना अघि याे यान प्रक्षेपण गरेको थियो । इन्साइटले लगभग ४९ करोड किलोमिटरको दूरी तय गर्दै सोमबार मंगल ग्रहको एलिसियम प्लानिसिया नाम गरेका समतल मैदानमा अवतरण गर्यो ।

यो समतल मैदान मंगल ग्रहको भूमध्य रेखानजिकै रहेको छ जुन लाभाले बनेको पर्दाजस्तो छ । इन्साइट यानको उद्देश्य मंगल ग्रहको सतहभित्र रहेको रहस्य पत्ता लगाउनु र बढीभन्दा बढी जानकारी बटुल्नु हो ।

मंगल ग्रहबाट इन्साइटले पृथ्वीमा संकेत पठाएर आफूले काम सुरु गर्न लागेको जानकारी दिएकाे थियो । जानकारी अनुसार अहिले उसले सूर्यको किरण प्राप्त गर्न आफ्नो सोलर प्यानल फैलाएर आफूलाई चार्ज गरिरहेको छ ।

नासाको इन्साइट योजनाका म्यानेजर टम हफम्यानले भनेका छन्, ‘अब इन्साइटले आरामले काम गर्न सक्छ, उसले आफ्नो ब्याट्री रिचार्ज गरिरहेको छ ।

मंगल ग्रहबारे १० चाखलाग्दा तथ्य यस्ता छन् :

१. हाम्रो सौर्य मण्डलमा ग्रहहरुको कुरा गर्दा मंगल ग्रह सूर्यभन्दा १४.२ करोड माइलको दूरीमा छ । सौर्य मण्डलमा पृथ्वी तेस्रो नम्बरमा छ भने मंगल चौथोमा छ । पृथ्वी सूर्यबाट ९.३ करोड माइलको दूरीमा छ ।

२. मंगल ग्रह पृथ्वीको तुलनामा लगभग आधामात्र छ । पृथ्वीको व्यास ७,९२६ माइल छ भने मंगलको व्यास ४,२२० माइल छ । तर मंगल ग्रहको तौल पृथ्वीको १० भागको एक भाग मात्र छ । 

३. मंगल ग्रहले सूर्यको पूरा चक्कर लगाउन ६८७ दिन लगाउँछ । यस हिसाबले मंगल ग्रहमा ६८७ दिनको एक वर्ष हुन्छ । 

४. मंगल ग्रहमा एक दिन  (जसलाई सोलर डे भनिन्छ) बराबर २४ घण्टा ३७ मिनेट हुन्छ । 

५. मंगल ग्रहमा जाडो, धुलोको आँधी, तथा भूमरी पृथ्वीकोभन्दा धेरै गुणा बढी हुन्छ । तर पनि यहाँको भौगोलिक स्थिति मानव जीवनका लागि राम्रो छ । 
गर्मीको बेला मंगल ग्रहको सर्वाधिक तापक्रम ३० डिग्री र जाडोमा शून्य डिग्रीबाट घटेर माइनस १४० डिग्रीसम्म पुग्छ । 

६. पृथ्वीमा जस्तै मंगल ग्रहमा पनि पतझर, ग्रीष्म, शरद र शिशिर गरी चारवटा ऋतु छन् । पृथ्वीको तुलनामा मंगलमा प्रत्येक ऋतु दुईगुणा लामा छन् ।

७. पृथ्वी र मंगल ग्रहमा गुरुत्वाकर्षण शक्ति फरम फरक हुने हुनाले पृथ्वीमा १०० पाउण्डको मान्छे मंगल ग्रहमा ३८ पाउण्डको हुन्छ ।

८ मंगल ग्रहको १३.८ माइल व्यास भएको फोबोस र ७.८ माइल व्यास भएको डेमिओस नामका आफ्नै दुईवटा चन्द्रमा छन् ।

९. मंगल तथा पृथ्वी दुवै चार तह मिलेर बनेका छन् । पहिलो फलाम तथा बसाल्टिक ढुंगाले बनेको क्रष्ट, दोस्रो सिलिकेट ढुंगाहरुबाट बनेको म्याण्टल, तेस्रो र चौथो फलाम र निकलजस्ता पदार्थले बनेको बाहिरी र भित्री कोर हुन् । तर कोरमा रहेको पदार्थ ठोस यातरल कुन अवस्थामा छ भन्ने कुरा अहिलेसम्म रहस्यमै छ ।

१०. मंगल ग्रहको वातावरणमा ९६ प्रतिशत कार्बन डाइअक्साइड छ भने १.९९ प्रतिशत आर्गन, ०.१४ प्रतिशत अक्सिजन तथा १ प्रतिशत नाइट्रोजन छ । साथै मंगल ग्रहको वातावरणमा कार्बन मोनोअक्साइड रहेको प्रमाण पनि भेटिएको छ ।

बीबीसीबाट


 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया